
- नमोबुद्ध संवाददाता
चितवन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समाजवादको निर्माण र विकास चितवन जिल्लाबाट सुरु हुने बताउनुभएको छ ।
चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–९ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आज आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले समाजवादको निर्माण राजनीतिक चेतना र आर्थिक विकास पनि राम्रो भएको जिल्लाबाट शुरुआत हुनसक्ने बताउनुभयो ।
चितवनबाट समाजवादतिरको यात्रा थाल्न जनतामा आर्थिक विकास ल्याउनुपर्ने र त्यसका लागि चितवन उपयुक्त हुने दाहालले बताउनुभयो । राष्ट्रिय पूँजीको विकास नभई आर्थिक समृद्धि नहुने भन्दै उहाँले समाजवादका लागि आर्थिक विकास हुनुपर्ने बताउनुभयो ।
शान्तिपूर्ण प्रतिस्पर्धाबाट आफू विजयी भई यहीँबाट समाजवादको जग शुरु गरिने उहाँले बताउनुभयो ।
चितवनको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश सभा १ का उम्मेदवार कृष्ण भुर्तेलले चुनावीसभालाई सम्बोधन गर्दै मेघौलीको पर्यटन विकासका लागि पोखरा र लुम्बिनीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
भुर्तेलले आफू निर्वाचित भएमा दक्षिण एशियाकै नमुनाको रुपमा स्थापना भएको भरतपुरको केन्द्रीय बस टर्मिनललाई व्यवस्थित गर्ने बताउनुभयो ।
चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिनुभएको छ भने राप्रपा (प्रजातान्त्रिक) र नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै, प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनबाट क्षेत्र नं ३ को १ मा कृष्ण भुर्तेल र २ मा रामलाल महतो तथा लोकतान्त्रिक गठबन्धनबाट १ नं मा दिनेश कोइराला र २ नं मा साजन महतोको उम्मेदवारी परेको छ ।