काठमाडौं-नेपाली कांग्रेसका नेता तिर्थ लामा काभ्रेको माटो र यहाँका जनजीवनमा चिरपरिचित अनुहार ।

वि.सं. २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा कम्युनिष्टहरुको किल्ला मानिएको काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट माओवादी नेता सूर्यमान दोङ(लालध्वज) र एमाले नेता संग्रामजित लामालाई पराजित गर्दै निर्वाचित भएर जिल्लाको राजनीतिमा उदाउनुभएका लामा त्यसताका कांग्रेस क्षेत्र नं. १ क्षेत्रिय सभापति हुनुहुन्थ्यो ।

वि.सं. २०७४ को संसदिय निर्वाचनमा एमाले माओवादीसहितको बाम गठबन्धनसँग पराजित भएपनि कार्यकर्ता तथा जनता अझ भनौ राजनीतिको मैदानबाट भाग्नुभएन बरु खारिएर आउनुभयो ।

जनताको सुखदुखमा सँगै देखिरहने काभ्रे रोशीका तिनै पात्र लामाको लोकप्रियता जिल्लामा मात्र सिमीत रहेन ।

वि.सं. २०६४ सालमा नेपाली कांग्रेसको क्षेत्रीय उपसभापतिको रूपमा सांगठनिक जिम्मेवारी सम्हालेका लामा १२ औँ र १३ औँ महाधिवेशनमा लगातार दुई कार्यकाल क्षेत्रीय सभापति, भातृ संस्था नेपाल तामाङ संघ केन्द्रिय सदस्य, १४ औँ महाधिवेशनबाट कांग्रेस जिल्लाको सभापति हुदै हालै भएको १५ औं महाधिवेशनमा केन्द्रिय सदस्यको जिम्मेवारीमा पुग्नुभएको छ ।

वि.सं. २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेस माओवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनबाट काभ्रे क्षेत्र नं. १ (ख) बाट बागमती प्रदेश सभा सदस्य जित्दै प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रीको रुपमा सफल जिम्मेवारी निभाएपछि थप चर्चामा आउनुभएका लामा पार्टीको १५ औं महाधिवेशनमा सर्बाधिक मत ल्याएर केन्द्रिय सदस्य(आदिवासी जनजाति) तर्फ निर्वाचित हुनुभएको हो ।

आदिवासी जनजाति (खुला) क्लस्टरतर्फ १२ जना मध्येको केन्द्रीय सदस्यका लागि मैदान उत्रनुभएका लामाले मत गणनाको सुरुवातिदेखि नै दर्जनौं उम्मेदवारहरुलाई पछि पार्दै अन्नतः लोकप्रिय(सबैभन्दा बढी) मतका साथ कांग्रेस केन्द्रको जिम्मेवारीमा पुग्नुभयो ।

कांग्रेस महाधिवेशनमा इतिहासकै धेरै ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेकोमा सोही पदमा चुनौती दिन आएका ४१ प्रतिस्पर्धीहरुमा फराकिलो मतान्तर सहितको ४ हजार ८ सय ५३ मत प्राप्त गर्दै लामा विजयी हुनुभएको हो ।

तत्कालिन कांग्रेस सभापति शेरबहादुर देउवासँग विद्रोह गर्दै नेता गगन थापासहित गत पुषमा भएको विशेष महाधिवेशनको पक्षमा माहौल सिर्जना गर्न सक्रिय देखिनूभएका लामाको कांग्रेस केन्द्रको राजनीतिमा शानदार प्रवेश भएको हो ।

कांग्रेस निर्वाचन समितिका अनुसार लामासँगै ई.अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्मा छिरिङ शेर्पा, टेक प्रसाद गुरुङ, भिम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गेल्जे लामा शेर्पा, वंशलाल तामाङ, अमृत गुरुङ, र सुशील गुरुङ आदिवासी जनजाति (खुला) क्लस्टरतर्फ केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ ।

सार्वजनिक मत परिणाम अनुसार तिर्थ लामालाई पछ्याउनुभएका ई. अनुप श्रेष्ठको २ हजार ७ सय ९१ मत मात्र छ । तेस्रोमा डा.प्रेमध्वज लामाले २ हजार ७ सय ४७ मत पाउनुभएको छ । त्यस्तै क्रमश कर्मा छिरिङ शेर्पाले २ हजार ५ सय ९४, टेक प्रसाद गुरुङले २ हजार २ सय ८०, भिम श्रीस मगर २ हजार २ सय ९, रामकृष्ण चित्रकार २ हजार १ सय ६२, बुद्ध लामा २ हजार ७९, गेल्जे लामा शेर्पाले १ हजार ९ सय ५१, वंशलाल तामाङले १ हजार ८ सय ८४, अमृत गुरुङ १ हजार ८ सय ३९ र सुशील गुरुङले १ हजार ७ सय ९८ मत प्राप्त गर्नुभयो ।

केन्द्रिय सदस्यमा विजयी लामाले आफ्नो विगतदेखि जागेको राजनीतिक चेतना, संघर्षको स्मरण गर्नुभएको छ । यसबारे सामाजिक सञ्जालमा आफ्नो विगत अनुभुति साट्दै उहाँले पछिल्लो प्राप्त भुमिकाले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभएको छ ।

‘कक्षा ६ मा अध्ययन गर्दादेखि सुरु भएको पञ्चायतविरोधी अभियानको यात्रा, २०४६ सालको जनआन्दोलन हुँदै पार्टीका विभिन्न जिम्मेवारी र संसदीय भूमिकासम्म निरन्तर अघि बढेको छ। आजको यो विजयले मलाई थप जिम्मेवार बनाएको छ ।’—उहाँले उल्लेख गर्नुभयो ।

आफूमाथि गरेको आशा, भरोसा र विश्वासलाई आत्मसात गर्दै आफ्नो प्रतिबद्धतामा खरो उत्रने दृढ संकल्प गर्दै लामाले आफूलाई सर्वाधिक मतसहित विजयी गराउन साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा पार्टीपंक्तिप्रति कृतज्ञता व्यक्त गर्नुभएको हो ।

कांग्रेस काभ्रे हुदै केन्द्रको राजनीतिमा पुग्नुभएका लामाको जितमा कैयन युवाले खुसीयाली मनाइरहेका छन् । युवा नेता लामा कांग्रेस रुपान्तरण, युवा जागरणका साथै गाउँठाउँको विकास तथा समृद्धिमा सशक्त, दृढ र प्रतिवद्ध देखिएको भन्दै जिल्लामा निकै  खुसीयाली छाएको हो ।

प्रतिक्रिया दिनुहोस !