काठमाडौं-भोटेकोसी त्रिशूली बाढीबाट प्रभावित तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई नेपाल तामाङ घेदुङको साथ निरन्तर देखिएको छ । रसुवा, नुवाकोट, धादिङ लगायत बाढी प्रभावित क्षेत्रमा घेदुङ राहत कार्यक्रममार्फत निरन्तर जोडिदै आएको हो ।
यसैक्रममा घेदुङले सोमबार नुवाकोटका विभिन्न स्थानीय तहमा बाढीका कारण बेपत्ता भएका ६० जनाका आफन्तलाई धार्मिक परम्पराअनुसार ४९ औँ दिनको पुण्य संस्कार (घेवा) सम्पन्न गर्न तीन लाख रुपैयाँ राहत रकम वितरण गरेको छ ।

नेपाल तामाङ घेदुङ संघीय कार्यालयको समन्वयमा हङकङ तामाङ घेदुङ प्रवास कार्यसमितिबाट संकलित उक्त रकम विदुर नगरपालिका–८ तथा किस्पाङ र मेघाङ गाउँपालिकाका बाढीपीडित परिवारलाई उपलब्ध गराइएको हो ।

विदुर नगरपालिका–८ स्थित कोलोनी थुम्का कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज सूर्य मोक्तान, हङकङ तामाङ घेदुङका सहसचिव अमर पाख्रिन तामाङ तथा स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो ।

बाढीमा परी बेपत्ता भएका आफन्तको सम्झनामा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार ४९ औं दिनको घेवा संस्कार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको घेदुङले जनाएको छ ।
यसअघि पनि नेपाल तामाङ घेदुङ संघीय समिति, घेदुङका प्रवास शाखा तथा नेपाल र विदेशमा रहेका विभिन्न संघसंस्थाको सहयोगमा बाढीपीडित परिवारलाई विभिन्न चरणमा आर्थिक राहत, खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गरिएको थियो ।

नेपाल तामाङ घेदुङ संघीय समितिका उपाध्यक्ष तथा प्रवास समन्वय प्रमुख रुप बहादुर योन्जनका अनुसार घेदुङका विभिन्न समिति, प्रवासमा रहेका तामाङ संघसंस्था तथा अन्तर्राष्ट्रिय तामाङ परिषद्मा आबद्ध संस्थाहरूको सहयोगमा राहत रकम संकलन गरिएको हो । उक्त रकम बाढीबाट प्रभावित तथा बेपत्ता भएका व्यक्तिका आफन्तलाई धार्मिक संस्कार सम्पन्न गर्न सहयोग पुर्याउने उद्देश्यले वितरण गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

यसैक्रममा असोज २५ गते आइतबार काठमाडौंको स्वयम्भूस्थित पहेँलो गुम्बा होल्डिङ सेन्टर र मुस्ताङ गुम्बामा रहेका रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेसीका विस्थापित परिवारमध्ये बाढीमा बेपत्ता भएका १६६ जनाका आफन्तलाई राहत उपलब्ध गराइएको थियो। त्यसैगरी, गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेका विस्थापित परिवारमध्ये बेपत्ता भएका १९९ जनाका आफन्तलाई पनि घेवा संस्कारका लागि राहत रकम प्रदान गरिएको थियो ।
उक्त राहत रकम वडा नं २ टिमुरेका कार्यवाहक वडा अध्यक्ष डोल्मा याङजेन तामाङ र हिमसुनामी रसुवा बाढीपीडित व्यवस्थापन समितिका कोषाध्यक्ष डोल्मा घलेलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा पीडित परिवारका आफन्तलाई करिब दुई लाख ५० हजार रुपैयाँ नगद राहत वितरण गरिएको घेदुङले जनाएको छ।

राहत वितरण कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन, सहअध्यक्ष सरोज मोहन लामा, उपाध्यक्ष रुप योन्जन तामाङ, महासचिव लिला कुमार घलान, उपमहासचिव विलाम मोक्तान, कोषाध्यक्ष तीर्थमान बल, संघीय सदस्य फुर्वा तेन्जिङ लामा तथा जिल्ला अध्यक्ष एसटी तामाङलगायतको उपस्थिति रहेको थियो।
घेदुङका अनुसार राहत संकलनमा नेपाल तामाङ घेदुङ संघीय समिति, घेदुङ प्रवास कार्यसमिति कुवेत, प्रवास कार्यसमिति बहराइन, घेदुङ क्षेत्रीय समिति मलेसिया–जोहोर, तामाङ समाज उत्तर अमेरिका, तामाङ समाज थाइल्यान्ड, तामाङ समाज ओमन, घेदुङ प्रवास कार्यसमिति कुर्दिस्तान–इराक तथा अन्तर्राष्ट्रिय तामाङ परिषद्मा आबद्ध विभिन्न संस्थाले सहयोग गरेका छन्।
विपद्का कारण आफन्त बेपत्ता भएपछि शोक र अनिश्चिततामा रहेका परिवारलाई धार्मिक संस्कार सम्पन्न गर्न सहयोग पुर्याउनुका साथै प्रभावित समुदायलाई मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले राहत वितरणलाई निरन्तरता दिइएको घेदुङले जनाएको छ ।















