काभ्रेपलाञ्चोक–नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शनिबार र आइतबार वडा अधिवेशनहरु गर्ने कार्यतालिका अनुसार पहिलो दिन देशभरका ३ हजार ३ सय भन्दा बढी वडाहरुको वडा अधिवेशन सम्पन्न भयो ।
यसैक्रममा काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको ९ वटा वडाहरुको वडा अधिवेशन पनि सम्पन्न भएको नेपाली कांग्रेस तेमाल गाउँ इकाई सभापति ज्ञान बहादुर लामाले जानकारी दिनुभयो ।
विशेष महाधिवेशनसँगै गगन थापाको नेतृत्वमा पुगेको कांग्रेसले एकता, संगठन सुदृढिकरणको मुल भाव बोकेर उत्साहसाथ एकै दिन तेमालका वडा अधिवेशनहरु सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न गरेको इकाई सभापति लामाले बताउनुभयो ।
वडा अधिवेशनले वडा नं.१ मा राम कृष्ण बांस्कोटा, वडा नं. २ मा बिकास तामाङ, वडा नं. ३ मा कान्छा मान तामाङ (नलक), वडा नं. ४ मा प्रेम लामा, वडा नं. ५ मा जनक सिं लामा, वडा नं. ६ मा मनिल लामा, वडा नं.७ मा ज्ञान्देन लामा, वडा नं. ८ मा तेमाल सिँ तामाङ र वडा नं. ९ मा पुष्प लाल दोङलाई सभापति चयन गरिएको छ । साथै अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरु पनि छानिएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचन समेत नजिकिदै गर्दा कांग्रेसले युवा सहभागिता, सक्रियता, आन्तरिक एकतामार्फत संगठन बलियो बनाउने रणनीति लिएको देखिएको छ । वडा अधिवेशनबाट अधिकांश युवालाई वडाहरुको नेतृत्व दिएर यस खालको सन्देश प्रवाह गरेको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन समानुपातिकतर्फको मत परिणाम हेर्दा तेमालमा पहिलो रोजाई कुलमान घिसिङको उज्यालो नेपाल पार्टी देखिन्छ भने दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र तेस्रोमा कांग्रेस देखिन्छ । यद्यपि स्थानीय चुनावसम्मममा परिस्थिति बदलिन सक्छ र बदल्नकै लागि कांग्रेस पनि शक्ति आर्जनमा लाग्ने रणनीतिमा देखिएको हो ।
यहाँ २०७४ र २०७९ मा सम्पन्न दुइवटै स्थानीय तहको निर्वाचन कांग्रेसले जितेको विरासत छ । २०७४ मा एक्लै र २०७९ मा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीसँग मिलेर निर्वाचनमा होमिएर सफलता हाँसील गरेको कांग्रेसले आफ्नो उक्त विरासत जोगाउन धरातल अझ यो भन्दा बलियो बनाउने प्रण गरेको जनाइएको छ । 
केन्द्रमा नेता शेर बहादुर देउबा र संस्थापन बनेको गगन थापा नेतृत्वको कांग्रेस मिल्न नसकेकै अवस्थामा आयोजित वडा अधिवेशनबाट देउबा पक्षको प्रभाव भने कमजोर रहेको देखिएको छ ।
तिर्थ लामाको नेतृत्वमा रहेको नेपाली कांग्रेस काभ्रे एक ढिक्का जस्तै देखिनुले केन्द्रको प्रभाव यहाँका स्थानीय क्षेत्रमा खासै देखिएको छैन । यस कारण पनि आगामी केन्द्रिय महाधिवेशन र स्थानीय तहको निर्वाचनका लागि यहाँका कांग्रेस नेता कार्यकर्ता उत्साहित देखिएका छन् ।














