काठमाडौं–नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि बन्दसत्र जारी छ । वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसक्नुभएको छ तर कांग्रेस नेता देउवाको सहभागिता बिना भएको महाधिवेशनबाट सर्वसम्मत सभापति हुने आंकलन गरिएको गगन थापा सर्वसम्मत सभापति नहुने देखिएको छ ।
निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा थापासहित तीन जनाले सभापातिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलबार साँझसम्म सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको हो ।
यसअघि १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित थापा गत पुसमा आफैं विशेष महाधिवेन गर्दै सभापति बन्नुभएको थियो ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट केही दिनअघि मात्रै संस्थापनतिर आएका राठौर १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । पछिल्लो समय नेता कृष्ण सिटौला पक्षका खड्गी पनि महाधिवेशनको केही समयअघि मात्रै संस्थापनतिर आउनुभएको हो ।
महाधिवेशनको माहौल हेर्दा सभापतिमा थापा नै निर्वाचित हुने देखिएपनि अन्य दुईजनाको उम्मेदवारीले थापालाई सर्वसम्मत हुन रोकेको हो ।














