विराटनगर, २८ वैशाख । विभित्र जातीय सङ्घ सङ्गठनले गरेको नेपाल बन्द आह्वानअन्तर्गत विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थासमेत बन्द भएको छ । औद्योगिक एवम् व्यापारिक नगर विराटनगरमा बन्दका कारण बैंक तथा वित्तीय संस्थाको करोडौंको कारोबार ठप्प भएको छ । बैंकहरूमा सेवाग्राही पुग्दा गार्डले फर्काइ दिने गरेको गुनासो पाइएको छ । त्यस्तै अधिकांश बैंकहरूको एटिएम सेवा पनि बन्द छ । विराटनगरमा सरकारी तथा गैरसरकारी गरी करिब दुई दर्जनभन्दा बढी बैंक एवम् वित्तीय संस्था रहेको बुझिएको छ । बजार तथा बैंक बन्द गराउन मुसलमानले आज मोटरसाइकल -यालीसमेत गरेको छ । त्यस्तै विगत एक हप्तादेखि विभित्र माग राख्दै पूर्वाञ्चलमा हुने दैनिक बन्दले विराटनगर भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । दैनिक तीन करोड राजस्व सङ्कलन हुने सो कार्यालयलाई ५० लाख राजस्व सङ्कलन गर्न पनि समस्या परेको बताइएको छ । बन्दले भन्सार कार्यालयमा आएका सामानसहितका गाडी तथा ट्याङ्कर जोगवनीदेखि बथनाहाबीच सडकखण्डमा अलपत्र अवस्थामा छ । बन्दले विराटनगर बजारको बाहिरी, भित्रीचोक र गल्लीका पसल पनि बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस !