काभ्रेपलाञ्चोक‐जिल्लाको पर्यटकिय क्षेत्रको रुपमा परिचित धुलिखेल नगरपालिकाले भौतिक पुर्वाधार निर्माण, सामाजिक विकास, रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासमार्फत समृद्धि हाँसील हुने उद्घोष सहित आफ्नो आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगरको सभाहलमा बुधबार आयोजित १९ औं नगर सभामा कार्यवाहक नगर प्रमुख निराजन जंगमले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । सभामा उहाँले १ अर्ब २३ करोड रुपैयाँको बजेट समेत प्रस्तुत गर्नुभयो ।
नेपालको पहिलो स्वस्थ शहरको उपाधि पाएको यस नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य संस्थाहरुको भौतिक पुर्वाधार सुधार, आवश्यक उपकरण तथा औषधीको उपलब्धता, दक्ष जनशक्ति व्यवस्थापनमा नगरपालिकाले जोड दिएको छ ।
सभालाई सम्बोधन गर्नुहुदै कार्यवाहक नगर प्रमुख जंगमले नगरको वडा नं. ९ मा रहेको धुलिखेल नगर अस्पताल सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गरिने बताउनुभयो ।
साथै शिक्षाको गुणस्तर सुधारका लागि योजनासहित शिक्षण, नियमित अनुगमन, कार्यसम्पादन करार गर्ने नीति नगरपालिकाले लिएको उहाँको भनाई छ ।
नीति, कार्यक्रम र बजेटमा उल्लेख गरिएअनुसार प्रधानाध्यापकलाई साविक उपलब्ध गराइएको अभिभावक सञ्चार सुविधामा यातायात सुविधाको लागि मासिक २ हजार रुपैयाँ थप गरिएको छ ।
ज्येष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई अन्तरपुस्ता सीप हस्तान्तरण मार्फत समृद्ध नगर निर्माणमा उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वैदेशिक रोजगारीमा जानुअघि आवश्यक गुणस्तरीय सीप, भाषा तथा अन्य व्यवसायीक तालिमको पहुँच सुनिश्चत गरिने भएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि एक घर एक धारा नीतिलाई निरन्तरता दिने भएको कार्यबहाक नगरप्रमुख जंगमले उल्लेख गर्नुभयो । धुलिखेलको मौलिक कला संस्कृति, वातावरणीय स्वच्छता प्रवद्र्धन, पर्यटन प्रवद्र्धनका सवालमा आवश्यक नीति निर्माण तथा कार्यन्वयन गरिने उहाँले बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, स्वच्छता, पर्यटनको क्षेत्रबाट चिनाएको धुलिखेलको पहिचान प्रवद्र्धनका कार्यक्रमहरुलाई निरन्तरता दिईने भएको हो ।
नगर सभामा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ३ का वडा अध्यक्ष गणेश आचार्यले आर्थिक वर्ष २०८२/८३ को यथार्थ स्थिती समिक्षा पेश गर्नुभएको थियो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५०.२४ प्रतिशत वित्तिय प्रगती भएको आचार्यले बताउनुभयो । जसमा चालु तर्फ ६६ प्रतिशत र पूँजीगत तर्फ २५ प्रतिशत वित्तीय प्रगती भएको उहाँको भनाई छ ।
यथार्थ स्थिती समिक्षामा जनाए अनुसार २०८१ असोज ११ र १२ को अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त बनाएको धुलिखेल खानेपानी आयोजनाको संरचना पुनर्निमार्णको सम्पन्न भएको छ ।
शिक्षा, संस्कृति प्रवद्र्धन लगायत सामाजिक विकासका साथै भौतिक पूर्वाधारका क्षेत्रमा पनि उल्लेख्य प्रगती हाँसील गरेको जनाईएको छ ।














