काभ्रेपलाञ्चोक‐जिल्लाको रोशी गाउँपालिकाले बुधबार आयोजित गाउँसभाको १९ औँ अधिवेशनबाट आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमका साथै बजेट ल्याएको हो ।
बजेट अधिवेशनको रुपमा रहेको यो अधिवेशनमा अध्यक्ष दिनेश लामाले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो भने उपाध्यक्ष मिमबहादुर वाईबाले उक्त नीति तथा कार्यक्रम कार्यन्वयनका लागि बजेट प्रस्ताव गर्नुभयो ।
रोशी गाउँपालिकाले भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्र लगायतको विकासमार्फत समृद्ध रोशीको संकल्प गर्दै विभिन्न १३४ वटा नीति तथा कार्यक्रमका साथै बजेट ल्याएको हो ।
गाउँपालिकाले यो पटक निशुल्क स्वास्थ्य विमा कार्यको दायरा फराकिलो पारेको छ ।
यसअघि नै ६० वर्षभन्दा माथि र ७० वर्षभन्दा मुनिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गाउँपालिकाले गर्दै आएकोमा आगामी आर्थिक वर्षदेखि भने दलित, एकल महिला र महिला स्वास्थ्य स्वमसेविका, विपन्न परिचयपत्र प्राप्त नागरिकको समेत निशुल्क स्वास्थ्य विमा गर्ने भएको हो ।
उनीहरूको स्वास्थ्य बिमा शुल्क गाउँपालिकाले व्यहोर्ने भएको गाउँपालिका अध्यक्ष लामाले स्पष्ट पार्नुभयो । यसका लागि आगामी आर्थिक वर्षका लागि ६० लाख बजेट विनियोजन गर्ने प्रस्ताव सभामा प्रस्तुत गरिएको छ ।
त्यस्तै कक्षा १२ सम्म दिवा खाजा उपलब्ध गर्ने नीति समेत रोशी गाउँपालिकाले लिएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा पाँचसम्म दिवा खाजा व्यवस्था हुँदै आएकोमा आगामी आर्थिक वर्षदेखि कक्षा ६ देखि कक्षा १२ सम्म दिवा खाजा व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यसतर्फ ६९ लाख बजेट खर्च हुने अनुमान गरिएको छ ।
सभामा गाउँपालिका उपाध्यक्ष वाईबाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ७२ करोड ९९ लाख ४२ हजार बजेट प्रस्ताव गर्नुभएको थियो ।
आन्तरिक स्रोतबाट पाँच करोड ८३ लाख ६५ हजार, स्थानीय राजस्व बाँडफाँटबाट तीन करोड ३० लाख संघीय राजस्व बाँडफाँटबाट चार करोड पाँच लाख ३१ हजार, संघीय सरकार समानीकरणबाट १० करोड ४३ लाख, संघीय ससर्त अनुदानबाट ३३ करोड २३ लाख, संघीय समपूरक अनुदानबाट ३० लाख, संघीय विशेष अनुदानबाट ७३ लाख, प्रदेश सरकार समानीकरणबाट ९१ लाख ५९ हजार, प्रदेश सरकारको ससर्त अनुदानबाट एक करोड २७ लाख ९८ हजार, प्रदेश सरकारको समपूरक अनुदानबाट दुई करोड ४५ लाख र प्रदेश विशेष अनुदानबाट ५५ लाख बजेट गाउँसभामा प्रस्ताव गर्नुभएको हो ।
गाउँपालिकाले रोशीको प्राकृतिक सुन्दरता, सांस्कृतिक, धार्मिक सम्पदा एवं मौलिक जीवनको य्रवद्र्धनमार्फत पर्यटनको विकास गर्ने नीति लिएको छ । यसका लागि पर्यटन संरक्षण समिति गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसका साथै गाउँपालिकाले कृषि उत्पादन बृद्धिलाई महत्वका साथ लिएको छ । कृषिको व्यवसयिकरणमा जोड दिइएको हो । अनुदानका कृषि सामाग्री वितरण जस्ता कार्यक्रमलाई निन्तरता दिने भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँसभाले गाउँपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूमा कर्मचारी अभाव हुन नदिने नीति अघि सार्ने भएको छ । यसमा कर्मचारी व्यवस्थापनका लागि एक करोड ५० लाख बजेट विनियोजन गर्ने प्रस्ताव छ ।
विपतबाट प्रभावित नागरिकहरूको स्थायी आवास, पुनर्निर्माण र प्रबलीकरण गर्ने नीति रोशी गाउँपालिकाले लिने भएको छ । जसका लागि ६० लाख बजेट विनियोजन गर्ने भएको छ ।
आवास निर्माणको लागि गाउँपालिकाले २० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र संघ सरकारले ५० प्रतिशत रकम व्यहोरेर प्रतिआवास निर्माणका लागि चार लाख प्रदान गर्ने नीति अघि सारिएको छ ।














