काभ्रेपलाञ्चोक‐ जिल्लाको नमोबुद्ध नगरपालिकाको दोस्रो नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमका साथै बजेट ल्याएको छ ।

भकुण्डेबेशीस्थित नगरको सभाहलमा गत सोमबार आयोजित सभामा नगरप्रमुख कुनसाङ लामाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले नगरको उक्त नीति तथा कार्यक्रम कार्यन्वयनका लागि अनुमानित बजेट पेश गर्नुभएको हो ।

नगरसभाले नगरको भौतिक पूर्वाधारदेखि सामाजिक विकाससम्मका नीति तथा कार्यक्रम अघि सारेको हो । नगरको सडक, खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य, वातावरण अनुकुलन, सामाजिक सुरक्षाका कार्यक्रमदेखि पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै नगरभित्रका अधुरा कामहरु सम्पन्न गर्ने संकल्प समेत गरिएको छ ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्याउने कार्यलाई निरन्तरता दिइने नगर प्रमुख कुनसाङ लामाले बताउनुभयो । यो कार्यत्रलाई थप व्यवस्थित गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाईएको छ ।

सभामा नगर प्रमुख रत्नबहादुर लामाले नगरपालिकाको आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम कार्यन्वयनका लागि कुल ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्नुभयो ।

कुल ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँ बराबरको बजेटमा आन्तरिक आयबाट ९ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९४ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ३ करोड ७४ लाख ४ हजार १८० रुपैयाँ, सशर्त अनुदान ६८ लाख रुपैयाँ, विशेष अनुदान ७० लाख रुपैयाँ तथा समपूरक अनुदान ३ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

नगरपालिकाले चालु खर्चतर्फ २० करोड २९ लाख ४४ हजार ७ सय ३८ रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

बैठकमा नीति तथा कार्यक्रम, बजेटका साथै आर्थिक विधेयक, विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन, विभिन्न विषयगत समितिहरूको प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन समेत पेश गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !