• नमोबुद्ध सम्वाददाता

२६ वैशाख, नगरकोट । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको  पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताउनु भएको छ । ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको बताउनु भएकी हुन् ।

पार्टी एकीकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढंगले दुई पार्टी एकीकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकीकरणका लागि आवश्यक तयारी गरिरहेको बताउनु भयो ।

अहिले नै सरकारका गतिविधिको समीक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुसालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेण्डाअनुसार काम अघि बढाएको बताउनु भयो ।
सरकारले तोकिएकै समयमा बजेट ल्याइसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन् । कार्यक्रममा प्रवक्ता भुसालले विगतमा जस्तै नभई यो सरकारले कूटनीतिक पाटोलाई देश र समयानुकूल बनाउँदै गएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !