पाकिस्तानले मिसाइल परीक्षण गरेको एक दिनपछि भारतले पनि उस्तै प्रकृतिको जमिनबाट आकाशमा मार हान्न सक्ने मिसाइलको सफल परीक्षण गरेको छ । बुधबार उडिसाको चन्दीपुरबाट देशमै निर्माण भएको आकाश नामक एयरफोर्स भर्जन मिसाइलको सफल परीक्षण गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
‘वायु सेनाका लागि दुईवटा मिसाइल परीक्षण गरिएको हो र यो नियमित सैन्य परीक्षण नै हो’, रक्षामन्त्रालयका अधिकारीलाई उधृत गर्दै दैनिक भास्करले लखेको छ, ‘दुबै परीक्षण सफल भएका छन् ।’
वायुसेनाका लागि लक्षित गरेर भारतको रक्षा तथा अनुसन्धान एवं विकास संस्थानले आकाश नामक नयाँ मिसाइलको निर्माण गरेको हो । ६० केजी बिष्फोटक पदार्थ बोक्ने क्षमता भएको यो मिसाइल २५ किलोमिटरसम्म मार हान्न सक्ने क्षमताको छ ।
आकाश मिसाइल पहिलोपटक भारतीय सेनाले सन् २००८ मा निर्माण गरेको थियो । (एजेन्सीको सहयोगमा)