
काठमाडौं– टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ ले नेपाली कला संस्कृतिको विकास तथा विस्तारमा पुर्याएको योगदानप्रति संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले खुसी व्यक्त गर्नुभएको छ ।
नेपाली संस्कृतिको दायरालाई विश्वभर विस्तार गर्न टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ले सघाइरहेको भन्नुहुदै उहाँले यसप्रति थप हौसला प्रदान गर्नुभयो ।
मन्त्रालयकै सभाहलमा दुबै रियालिटी शोका टप टेन प्रतिभाहरुसँग अन्र्तक्रिया गर्नुहुँदै मन्त्री पाण्डेले नेपाली संस्कृतिलाई पहिचान र पर्यटनसँग जोडेर गीत–संगीत र नृत्यकलाको माध्यमबाट नेपालीपन प्रर्बद्धन गर्ने कार्यमा यि रियालिटी शोहरुले निकै अर्थपुर्ण योगदान पुर्याइरहेको बताउनु भएको हो ।
नेपाल टेलिभिजनमा प्रसारण हुने यी दुबै रियालिटी शो गैरनाफामुखी सामाजिक संस्था इन्ट्रा फाउन्डेसनले निर्माण गरेको हो । हाल दुबै शोको सिजन–२ जारी छ । मन्त्री पाण्डेले ‘मेरो डान्स युनिभर्स’ सिजन– १ का विजेता थाइल्याण्डका नेपाली प्रतिभा खुशी कार्कीसँग केही अघि थाइल्याण्डकै एक कार्यक्रममा भेटेको सन्दर्भ समेत सुनाउनुहुँदै संसारभर फैलिएका नेपालीहरुलाई संस्कृतिको साझा धागोले जोड्ने काम इन्ट्रा फाउन्डेसनले गरेकोमा प्रसंसा गर्नुभयो ।
‘एउटा राष्ट्रको हिसाबले हामीसँग बरु केही सीमाहरु छन्’, उहाँले भन्नुभयो, ‘तर, अमेरिका पुगेका भुटानी नेपालीहरुको संस्थाले नेपाली गीत–संगीत र संस्कृतिमाथि यति ठुलो कार्य गर्नु भनेको निकै प्रसंसानिय छ ।’
मन्त्री पाण्डेले उत्कृष्ट अवार्ड जसले जितेपनि दुबै शोमा सहभागी सम्पुर्ण प्रतिभाहरुलाई नेपाली सांस्कृतिक दुतको रुपमा आ–आफ्ने भुमिमा सक्रिय हुन आग्रह समेत गर्नुभयो ।
फाउन्डेशनका कार्यकारी निर्देशक चुडामणि भट्राईका अनुसार संसारभर छरिएका नेपाली मुलका नागरिकलाई गायन र नृत्य कलामार्फत एउटै मालामा गाँसेर नेपाली साँस्कृतिक पहिचानलाई विश्वभर प्रबद्र्धन गर्ने कार्यक्रमको उदेश्य रहेको छ । दुबै शोमा विभिन्न ६० मुलुकबाट सहभागिता भई यो साता उत्कृष्ट ८ को सुचीमा प्रवेश गरेका छन् ।
‘अन्टार्कटिकाबाहेक सबै महादेशमा हामी पुगेका छौं’, उहाँले भन्नु भयो, ‘म्यान्मारबाट त त्यता पुगेको सातौं पुस्ताका प्रतिभाले पहिलोपटक नेपालमा पाइला टेक्दै शोमा सहभागी हुने अवसर हासिल गर्नुभएको छ ।’
कार्यक्रममा म्यान्मारकै अस्मिता न्यौपाने, कतारको प्रतिनिधित्व गर्दै जुनु प्रसाइँ, सिक्किमबाट दिपराज राई र नेपालबाट प्रशान्त पोखरेलले मन्त्री पाण्डेसहितलाई गीत सुनाउनु भएको थियो ।
इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पना रहेको ‘मेरो भ्वाइस युनिभर्स’ बिहिबार र शुक्रबार साँझ तथा ‘मेरो डान्स युनिभर्स’ आइतबार र सोमबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । कार्यकारी निर्देशक भट्टराईका अनुसार दुबै शोको आउँदो भदौ ७ गते गोदावरीमा ग्राण्ड फिनाले गर्ने तयारी भइरहेको छ ।
दुबै शोको प्रथम हुनेलाई जनही १/१ करोड रुपैया, दोस्रोलाई ३०/३० लाख, तेस्रो हुनेलाई १०/१० लाख रुपैया र उत्कृष्ट दशमा पर्ने सहभागीले जनही ३ लाख रुपैया पुरस्कार राशी प्राप्त गर्नुहुने आयोजकले जनाएको छ ।
यो नेपाली कला, संगीत तथा संस्कृतिको प्रवद्र्धनका लागि आयोजित सबैभन्दा ठुलो धनराशी पुरस्कार र क्षेत्र समेटिएको रियालिटी शो मानिएको छ ।