धुलिखेल, काभ्रे । जिल्ला हुलाक कार्यालय काभ्रेले १५२औँ विश्व हुलाक दिवसका अवसरमा पनौतीस्थित वृद्धाश्रममा भोजन, कार्यालय परिसरमा सरसफाइ तथा उत्कृष्ट कर्मचारी सम्मानलगायतका कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

कार्यालयका निमित्त हुलाक अधिकृत अञ्जना निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिरिक्त हुलाक एसोसिएसनका केन्द्रीय अध्यक्ष टंक हुमागाईं प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ काभ्रेका प्रतिनिधि शिशिर दोङ विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।
दिवसका अवसरमा पनौतीस्थित वृद्धाश्रममा भोजन गराउनुका साथै कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। साथै, यस वर्षका उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि हुमागाईंले हुलाक सेवामा कार्यरत कर्मचारीले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्व हुलाक दिवस मनाइरहँदा पनि सेवाग्राहीलाई पूर्ण रूपमा सन्तुष्ट बनाउन नसकिएको उल्लेख गर्दै दैनिक सेवामा सुधार गरी जनताका गुनासोलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो।
त्यसैगरी, विशिष्ट अतिथि शिशिर दोङले आत्मविश्वासका साथ आफ्नो कर्ममा निरन्तर लागिरहे सफलता प्राप्त गर्न सकिने बताउँनु हुदै समयको माग अनुरुप हुलाक कार्यालयका कामकारबाही अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।
सभापति तथा कार्यालयका निमित्त हुलाक अधिकृत अञ्जना निरौलाले हुलाक सेवालाई आधुनिक प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने दिशामा अघि बढ्नुपर्ने आफुहरुले महसुस गरेको बताउनु भयो ।














