नागरिक उड्डयन प्राधिकरणले सुरक्षाका दृष्टिकोणले आवश्यक सम्पूर्ण तथ्यांकहरू एकीकृत गर्न युरोपियन उड्डयन सुरक्षा एजेन्सी (इसा) सँग सफ्टवेयर लिएको छ ।

यो सफ्टवेयरको सहयोगद्वारा प्राधिकरणले आफ्ना मुख्य प्राविधिक कार्यहरू गर्न सजिलो हुने महानिर्देशक त्रिरत्न मानन्धरले बताए । ‘कहाँ/के भइरहेको छ भनेर थाहा पाउन एउट बटन थिचे पुग्ने भएको छ,’ उनले भने ‘शुक्रबार इसा र प्राधिकरणबीच सम्झौता भइसक्यो । अब सूचनाहरू सफ्टवेयर प्रणालीमा राख्न सुरु हुन्छ ।’

इसाका प्राविधिकहरूले ३ दिन प्राधिकरणका हवाई सुरक्षा विभागलगायत अन्य प्राविधिकलाई तालिम समेत दिएका थिए ।

यसअन्तर्गत अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अनुसूचीका आधारमा सूचना राखिनेछ । जसमा अनुसूची १ मा पाइलट, इन्जिनियरलगायतका लाइसेन्स सम्बन्धी जानकारी, ६ मा मर्मत तथा जहाज सञ्चालन,  ७ मा जहाजको रजिस्ट्रेसन सूचकलगायतका जानकारीहरू समावेश हुनेछन् । त्यस्तै प्राविधिकको परीक्षा नतिजा, जहाज चेक/जाँच, रिपोट्री तथा कार्य सञ्चालनलाई ‘अलर्ट’ गर्ने र ट्रयाकिङ प्रणालीसमेत यस अन्तर्गत रहनेछ ।

आइकाओको मापदण्डअनुसार कार्यसञ्चालनका लागि प्राधिकरणले यस्तो सुविधा अवलम्बन गरेको मानन्धरले बताए ।

प्रतिक्रिया दिनुहोस !