टिएसएनए मिडिया कोअर्डिनेडर पाख्रिनलाई सम्मानपत्र प्रदान
काठमाडौं–तामाङ सोसाइटी अफ नर्थ अमेरिका(टिएसएनए)का अध्यक्ष लक्यान लामा र मिडिया कोअर्डिनेडर ङिमा पाख्रिनले तामाङ पत्रकारिता पुरस्कार स्थापना गर्न एक एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
शुक्रवार तामाङ पत्रकार संघ केन्द्रले आयोजना गरेको कार्यक्रममा अक्षयकोष स्थापनाका लागि लामा र पाख्रिनले एक–एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । अमेरिकाबाट भ्रमणका लागि स्वदेश आइपुगेका लामा र पाख्रिनसँग तामाङ पत्रकार संघका सचिवालय तथा उपत्यकामा उपलब्ध कार्यसमिति सदस्यबीच आयोजित भेटघाट कार्यक्रममा उक्त सहयोग घोषणा भएको हो ।
टिएसएनका मिडिया कोअर्डिनेटर एवं संघका सल्लाहकार पाख्रिनले अक्षय कोषका लागि आफूले थप रकम जुटाउने प्रयत्न गर्नेसमेत बताउनुभयो । ‘अहिले मेरो व्यक्तिगत तर्फबाट एकलाख सहयोग गर्छु ।’ अध्यक्षज्युबाट एकलाख आउने पक्का भयो । थप रकम जुटाएर अक्षय कोष बलियो बनाउनेमा मेरो जोड रहन्छ ।’ पाख्रिनले भन्नुभयो ।
मिडियाका लागि आफूले सक्दो सहयोग गर्नेसमेत उहाँको भनाई थियो ।
सोही अवसरमा पाख्रिनलाई संघले सम्मानपत्रसमेत प्रदान गरेको छ । कोभिड–१९ को विपद्मा पाख्रिनको समन्वयमा अमेरिकाबाट स्वास्थ्य तथा खाद्य सामग्री सहयोग प्राप्त भएको थियो ।
तामाङ समुदायबाट पत्रकारिता गरिरहेका व्यक्तिहरुलाई प्रोत्साहन होस् भन्ने उद्देश्यका साथ पुरस्कार प्रदानका लागि अक्षय कोष स्थापना गर्न उक्त रकम सहयोग गर्ने घोषणा आफूले गरेको टिएसएनका अध्यक्ष लामाले बताउनुभयो ।
‘तामाङ समाजको उत्थानका लागि मिडियाकर्मीको मुख्य भूमिका छ नै । मिडियाकर्मीको दक्षता बढाउन तालिमहरुको आवश्यकता हुन्छ नै । कुनै पनि काम गर्दा प्रक्रिया पुर्याएर गरौं भन्नेमा मेरो जोड रहन्छ ।’–कार्यक्रममा अध्यक्ष लामाले भन्नुभयो,‘पुरस्कारले पनि प्रोत्साहन गर्छ । यस्तो कार्यका लागि सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ ।’
तामाङ समाजको हितका लागि काम गर्ने पत्रकारका लागि आफू सदैव तयार रहेको उहाँको भनाई थियो । अमेरिकामा कुनै कार्यक्रम हुँदा संस्थागत रुपमा काम अघि बढेमा आफूहरु तामाङ पत्रकारलाई निम्तो पठाउन तयार रहेको समेत उहाँले बताउनुभयो ।
टिएसएनका अध्यक्ष लामा र मिडिया कोअर्डिनेटर पाख्रिनको माया र सद्भावले संघलाई प्रोत्साहन मिलेको संघका अध्यक्ष सुवास योञ्जनले बताउनुभयो । प्राप्त रकमलाई अक्षय कोष स्थापना गरी सबैको सुझावअनुसार पुरस्कार स्थापना गर्ने अध्यक्ष योञ्जनले बताउनुभयो ।
‘तामाङ सोसाइटी अफ अमेरिकाले जुन किसिमको सद्भाव हामीलाई देखाउनु भएको छ। यो सरहानीय छ । यसले पक्कै पनि तामाङ समुदायका मुद्दा उठाइरहेका पत्रकारहरुलाई प्रोत्साहन मिल्नेछ ।’ योञ्जनले भन्नुभयो ।
कार्यक्रममा तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन,उपाध्यक्षहरु नेत्र तामाङ, अन्जु तामाङ,महासचिव तीर्थमान बल, सचिव सरस्वती तामाङले टिएसएनएलाई धन्यवाद दिनुभयो । त्यसैगरी संघका सल्लाहकार अमरध्वज तामाङ, प्रतीक ङेसुर तामाङ,जगत दोङ, निवर्तमान अध्यक्ष विष्णु मोक्तानले तामाङ पत्रकारको क्षमता वृद्धिका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।