
- नमोबुद्ध संवाददाता,
काभ्रे–बनेपा नगरपालिकाले स्मार्ट पालिकाको सहकार्यमा
डिजिटल घरधुरी सर्वेक्षण गर्ने भएको छ।
नगरपालिकाभित्र रहेको १४ वटा वडाका लगभग १५ हजार घरधुरीलाई डिजिटल सर्वेक्षण मार्फत समेट्ने नगरपालिकाको तयारी छ ।
नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले डिजिटल सर्वेक्षण मार्फत तथ्यांक संकलन गरी नगरपालिकाको स्थानीय तहको सबै तथ्यांक राखेर नगरपालिकालाई चुस्तदुस्त बनाउन लागिएको बताउनुभयो ।
नगरका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले गणकहरुले लिएर आएको विवरणको आधारमा नगरपालिका आफ्नो सत्यतथ्य विवरणहरु उपलब्ध हुने बताउनुभयो। उहाँका अनुसार यो सर्वेक्षणमार्फत योजनाहरु सँगसँगै विकास निर्माणका कामहरुलाई अगाडि बढाउन सहज हुन्छ ।
बनेपा नगरपालिकाको विषयगत शाखा अनुसारको प्रश्नपत्र योजना शाखा अधिकृत शर्मिला बन्जाडेले तयार पार्नुभएको छ भने नगरले घरघरमा गणकहरु पठाएर डिजिटल रुपमा घरदैलो सर्वे सुरु गर्ने र जियो पोइन्ट,घरमुलिको फोटो देखि सम्पती सम्मका तथ्यांक लिने योजना अनुसार नै काम अघि बढाइएको छ ।
स्मार्ट पालिकाका सहसंस्थापक राजानन्द माण्डव्यले डिजिटल सर्वेक्षणमार्फत नगरपालिकाको सम्पूर्ण विवरण संकलन गरेपछि जनताले लिनुपर्ने सेवा सुविधाहरु मोबाइलकै माध्यमबाट लिन सकिने बताउनुभयो । उहाँका अनुसार मोबाइलकै माध्यमबाट कर, राजस्व तिर्न सहज बनाउने प्रावधानसहित योजना बनाइएको हो ।
पहिलो चरणको डिजिटल घरदैलो अभियान सकिएपछि दोस्रो चरणमा वडाबाट लिने सिफारिस र राज्यलाई तिर्नुपर्ने कर पनि अनलाइनबाट गर्ने व्यवस्था मिलाउने नगरपालिको योजना छ ।
डिजिटल सर्वेक्षणका लागिगणकहरुलाई तालिमसमेत दिइएको छ । स्मार्ट पालिकाका क्याम्पेन निर्देशक बिबस महतलेदेशका ७० भन्दा बढी पालिकाले अहिले सुचना प्रविधिमैत्री हुने प्रयास गर्दै स्मार्टपालिका संग सहकार्य गर्दै आइरहेको र गणकहरुलाई कसरी सर्वे गर्ने, विवरण संकलन गर्ने, कसरी उपलब्ध विवरण सुरक्षित राख्ने, कसरी विवरणलाई डिजिटलाइज गर्ने भन्ने सम्बन्धिमा गणकहरुलाई प्रशिक्षण दिएका थिए ।
यसैगरी, सर्वेबाट आएको तथ्यांक कसरी नगरले प्रयोग गर्ने र तथ्यांक के कस्ता विषयमा घरमुलीसँग लिने भन्ने प्रशिक्षण स्मार्टपालिकाका क्याम्पेन को-अर्डिनेटर आवेग केसीले प्रस्तुत गर्नुभयो ।
स्मार्ट पालिकाले लगभग ७० वटा भन्दा बढी स्थानीय तहसँग सहकार्य गरी प्रविधिमैत्री सुशासन निर्माणका लागि काम गर्दै आइरहेको छ ।