
नमोबुद्ध संवाददाता घलान सदस्यमा निर्वाचित
काठमाडौँ–नमोबुद्ध खबर डट कमका सल्लाहकार तथा काठमाण्डौं महानगरपालिका सञ्चार महाशाखा मेट्रो एफ एमका कार्यक्रम निर्माता-प्रस्तोता तिर्थमान वल हालै सम्मन्न तामाङ पत्रकार संघको संघीय महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएको छ । त्यस्तै नमोबुद्ध खबरका कार्यकारी सम्पादक शिशिर दोङ सचिव र संवाददाता कृतिका घलान सदस्यमा चुनिनुभएको छ ।
तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघको छैटौं संघीय अधिवेशनले उहाहरुलाई यो जिम्मेवारी दिएको हो ।
सञ्चारका अलावा विभिन्न क्षेत्रबाट भाषा,साहित्य,संस्कृतिको अभियान रहनुभएका वलले तामाङ पत्रकारहरुले दिएको महासचिवको जिम्मेवारी कुशलतासाथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
तामाङ समुदायको सांस्कृतिक जागरणका लागि भाषा,साहित्य,कला संस्कृतिप्रति समर्पित ऐतिहासीक कार्यक्रम ‘नाङसाल’ को प्रस्तोता वल यसअघि तामाङ विद्यार्थी घेदुङबाट तामाङ विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता समेत हुनुहुन्थ्यो । तामाङ लिपी तामयिगमा पाहिलो पटक ‘छार होइसेर’ तामाङ गजल संग्रह समेत प्रकाशित गर्नुभएका वल डेढ दशक अघि निर्माण भएको तामाङ चलचित्र ‘लेङस्याला सेम्जो’ का कथा सम्पादक पनि हुनुहुन्छ ।
तामाङ सञ्चार,साहित्य र चलचित्रमार्फत भाषा,साहित्य,कला संस्कृतिको अभियानमा निरन्तर क्रियाशिल वल यसअघि तामाङ पत्रकार संघको संघीय कोषाध्यक्ष हुनुहुन्थ्यो ।
सचिवमा निर्वाचित दोङ तामाङ पत्रकार संघको पहिलो जिल्ला शाखा काभ्रे शाखा संस्थापकका साथै पूर्व जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।
एक दशक लामो समय काभ्रे लगायत आसपासका जिल्लाकै पहिलो सामुदायिक रेडियोमा कार्यरत दोङ हाल नमोबुद्ध खबरका कार्यकारी सम्पादक हुनुहुन्छ । मोफसलबाट पत्रकारिता गरिरहनुभएका दोङले पनि आफ्नो जिम्मेवारीबाट नपन्छिने बताउनुभएको छ ।
त्यस्तै सामुदायिक अनलाईन पत्रिका नमोबुद्ध खबर डट कमका बजार प्रमुखका साथै मुख्य संवाददाताको रुपमा क्रियाशिल घलान ६ वर्षअघि मेट्रो एफएमको तामाङ भाषाको दैनिक कार्यक्रम ‘नाङसाल’ को संवाददाता हुदै नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखा सदस्यता लिएर संगठित हुनुभएको थियो । तामाङ पत्रकार संघ काभ्रेबाट महाधिवेशन प्रतिनिधि चुनिएका घलानले संघीय कार्यसमितिमा सदस्यको जिम्मेवारी पाउनुभएको हो ।
अरु को को आए संघमा ?
राजधानीको स्वयम्भूमा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यता र विष्णुकुमार मोक्तानको अध्यक्षतामा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुवास योञ्जन,वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन,उपाध्यक्ष विश्वराज तामाङ, अञ्जु तामाङ र नेत्र तामाङ,अन्य २ सचिवहरुमा उर्गेन तामाङ र सरस्वती तामाङ,कोषाध्यक्षमा डोल्मा छिरिङ तामाङलाई जिम्मेवारी दिएको छ ।
सदस्यहरुमा इकमान लामा,युनिकरक्षे ग्लान,विमल तामाङ,मिक्साङ वाइबा,साहिला तामाङ‚ राजेश रुम्बा,किशोरकुमार ब्लोन,साङबहादुर लो,मिलनकुमार लामा,हिरामान वल,गमला लामा,जीबी लामा,शान्ति तामाङ,अनुप योञ्जन,मानवी मोक्तान,रामचन्द्र तामाङ,मिङ्मा लामालाई चयन गरिएको छ ।
पेशागत हकहित,व्यवसायिक क्षमताको विकासका अलावा तामाङ सांस्कृतिक जागरणका लागि पनि स्थापित संघको देशका २२ जिल्लाका साथै प्रदेश १ र बागमती प्रदेश कमिटिमा गरी करीव ५ सय तामाङ पत्रकार संगठित छन् ।