
काठमाडौं–पहिलो तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासीक दिनको स्मरण गर्दै यो पटक तिसौं तामाङ चलचित्र प्रदर्शन दिवस मनाईएको छ ।
तामाङ चलचित्र संघ नेपालको आयोजनामा शनिबार राजधानीमा सम्मान, शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरी यो दिवस मनाईएको हो ।
दिवसको अवसरमा यो पटक १९ जनालाई चलचित्रका विभिन्न विधातर्फको टिएफआर सम्मान र तीन जनालाई विशेष सम्मान प्रदान गरिएको छ ।
चलचित्र निर्देशकतर्फ हुत्त संन्जय लामा, नायकतर्फ जय स्याङ्तान, नायिकातर्फ संगीता लामा, अभिनेतामा राजकुमार स्याङ्तान, अभिनेत्रीमा माया देवी मोक्तान, पत्रकारितातर्फ हिरोज लोप्चन, निर्मातातर्फ कोपिला लामा, संगीतकारमा उत्तर लामा, गायनमा सौगात मोक्तान र लक्ष्मी स्याङ्तान, गीतकारमा कुमार स्याङ्बा, हास्य कलाकार विधामा गोर्खा घिसिङ, खलनायकमा विकाश स्याङ्तान, छायांकनतर्फ प्रकाश तामाङ, सम्पादनतर्फ रोशन फ्युबा, नृत्य निर्देशन विधातर्फ बुद्ध लामा, द्वन्द्व निर्देशकमा शंकर महर्जन, प्रोडक्सन हाउस र ब्यानरतर्फ जिम्बा फिल्म्स प्रोडक्सनलाई टिएफआर सम्मान प्रदान गरिएको हो ।
तामाङ चलचित्र प्रदर्शन दिवस तथा टिएफआर सम्मान समारोहकै बीच अभियन्ता एवं सञ्चारकर्मी गंगा लामा, सामाजिक अभियन्ता फुर्वा दोर्जे मोक्तान र मनिका सिंङ्तानलाई विशेष सम्मान प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले तामाङ चलचित्र केवल मनोरञ्जन मात्र नभई तामाङ संस्कृति, भाषा र पहिचानलाई बचाउने अभियानको रुपमा रहेको पाएको बताउनुभयो । तामाङ चलचित्र क्षेत्रको उन्नयनमा आफूले सक्दो सहयोग गर्ने उहाँको वचन छ ।
त्यस्तै, विशिष्ट अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आदिवासी जनजातिहरुमा तामाङ चलचित्र जगतले फड्को मारेको भन्दै यसलाई अझ प्राविधिक र बजारमैत्री बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अर्का विशिष्ट अतिथि रोशी गाउँपालिकाका पूर्व अध्यक्ष एवं तामाङ चलचित्र संघका संरक्षक डीबी मोक्तानले अनेक संघर्षका बीच अघि बढेको तामाङ चलचित्रको बृद्धिविकासमा सबैको सहकार्य आवश्यक रहेको औंल्याउदै यस दिवसले समुदायको एकता र सहकार्य भाव जगाउन भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
३० औँ तामाङ चलचित्र प्रदर्शन दिवस केवल सम्मानको दिन मात्र नभई इतिहास स्मरण, योगदानको मूल्याङ्कन र भविष्यको योजना प्रस्तुत गर्ने अवसरको रुपमा लिएको संघका अध्यक्ष विनायक लोप्चनले बताउनुभयो ।कार्यक्रममा बोन्बो झाँकी तथा ताम्बा प्रस्तुतीले स्वागत गरिएको थियो भने विशाल काल्तान, विश्व दोङ, लक्ष्मी स्याङ्तान, काजल तामाङ, संगीता दोङ लगायत कलाकारहरूले आ–आफ्नो प्रस्तुती दिनुभएको थियो ।
तामाङ भाषामा पहिलो पटक स्व. जयनन्द लामाको लेखन र निर्देशनमा निर्मित ‘सेमरी छोरङान’ चलचित्र २०५२ साल भदौ १६ गते प्रदर्शन भएको दिनको सम्झनामा तामाङ चलचित्र प्रर्दशन दिवस मनाईदै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, विशिष्ट अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रोशी गाउँपालिकाका पूर्व अध्यक्ष डिबी लामा, अतिथिको रुपमा विभिन्न गाउँपालिकाका उपाध्यक्षहरु एवं जनप्रतिनिधिहरु,सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।