काठमाडौं— सशस्त्र प्रहरी बलका एआईजी बंशीराज दाहाललाई बर्खास्त गरिएको छ । आचरणविपरीत कार्य(संवेदनशील सूचना चुहावट) गरेको भन्दै दाहाललाई विभागीय कारबाही स्वरुप शुक्रबार बर्खास्त गरिएको गृहमन्त्रलायद्धारा शुक्तबार जारी सूचनामा उल्लेख छ ।

‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच र्पुयाउने कार्य गरेको कसुरमा मिति २०८३÷६÷२३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’, -गृह मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।

एआईजी दाहालविरुद्ध छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनी पोखरेललाई जिम्मा दिएको थियो । एआईजी दाहालले आचरणविपरितका गतिविधि गरेको निश्कर्षसहितको प्रतिवेदन बिहीबार साँझ एआईजी पोखरेलले गृह मन्त्रालयमा बुझाएकामा सोही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बर्खास्तको निर्णय गरेको जनाइएको छ ।

दाहाललाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !