काभ्रे -यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार अमित लामाले तेमालमा उत्पादन हुने बुद्धचित्त मालाको विकास, सुरक्षा र बजारीकरणका लागि लाग्ने बताउनुभएको छ ।

बिहीबारदेखि तेमालको घरदैलो अभियानमा रहनुभएका उहाँले यहाँका किसान जनतामाझ यस्तो बताउनुभएको हो ।

“प्राकृतिक रुपमा उत्तिकै सुन्दर धार्मिक तथा सांस्कृतिक रुपमा महत्त्वपूर्ण यो क्षेत्रमा फल्ने बुद्धचित्त माला बजार लगेर आम्दानी लिन अनेक समस्याहरु भोग्नुपरेको कुरा मैले बुझेको छु ।”, उम्मेदवार लामाले  भन्नुभयो- “यहाँका जनताले दुख गरेर फलाएको उत्पादन बजारसम्म लैजान सुरक्षाका साथै बजार मुल्य प्रप्तिमा परेको सकस अब यो क्षेत्रबाट एमालेले जितेमा समाधान हुनेछ, त्यसको ग्यारेन्टी म लिन्छु, विश्वबजारमा यसको ब्रान्डिङका लागि सदनमा, सरकारमा गएर म लड्छु, तपाईंहरु निर्धक्कले मालाको खेती गर्नुभए हुन्छ ।”

बौद्ध धार्मिक आस्था, मुल्य मान्यता अनुसार महत्त्व राख्ने बुद्धचित्त माला तेमाललाई संसारमा चिनाउने पहिचान र यहाँका जनताको आर्थिक समृद्धिको मुख्य स्रोतको रुपमा विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

बुद्धचित्त मालासँगै गुरु रेम्पोछेको पवित्र तपोभूमि तोङसोम कुँडाक, ऐतिहासिक ६ घ्याङ, ह्रेञ्जेन दोर्जे राजाको ईतिहास तथा एतिहासिक स्थलहरुको उत्खनन् तथा संरक्षण, बहुसांस्कृतिक संग्रहालय निर्माण एवं प्रबर्द्धन गरी पर्यटनको विकासमार्फत तेमाल समृद्धिको आधारदेखि मेरुदण्ड नै बलियो बनाउन सकिने उहाँले स्पष्ट पार्नुभयो ।

तेमालको चुनावी घरदैलो कार्यक्रममा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं. १ मा  प्रत्यक्षतर्फ एमाले केन्द्रीय सदस्य समेत रहनुभएका युवा उम्मेदवार  अमित लामा, समानुपातिक उम्मेदवार इन्द्रबहादुर तामाङको टोलिमा बागमती प्रदेशसभा सदस्य ज्ञान बहादुर तामाङ, पूर्व सांसद संविधानसभा सदस्य एमाले नेता द्वय रेशम लामा र नविना लामा, प्रदेश कमिटी सचिवालय सदस्य दिलिप लामा, राकेश लामा, रक्तिम लामा, नोर्वु लामा, प्रदेश  पूर्व सचिवालय सदस्य युवा नेता जेनिश लामा, घनश्याम लामा, जिल्ला सचिवालय सदस्य इन्द्रमान लामा, कल्पना तामाङ, सुरेश तामाङ, सिंह तामाङ, एमाले तेमाल गाउँ कमिटि अध्यक्ष सत्य लामा, युवा नेता सत्यमान लामा, उपाध्यक्ष इन्द्रबहादुर अधिकारी, किसान महासंघ नेतृ सम्तेन लामा, पार्टीका विभिन्न कमिटी, जन वर्गीय संगठनका नेता कार्यकर्ताहरु सहभागी  रहेको तेमाल गाउँपालिका कमिटी सचिव सुरेन्द्र तामाङले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !