काठमाडौं–नेपाल तामाङ कलाकार संघको १८ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन शनिबार साँझ उल्लासमय रुपमा सम्पन्न भएको छ ।
अधिवेशनको बन्दसत्रबाट संघको अध्यक्षमा विशाल काल्तान तामाङ, वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा तामाङ, उपाध्यक्ष सुबास मोक्तान, महासचिव खेम मोक्तानका साथै अधिकांश सदस्यहरु सोही जिम्मेवारीमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यसअघि सचिवमा निर्मला घिसिङ र कोषाध्यक्ष योगेश लामा रहनुभएकोमा अहिलेको कार्यसमितिमा योगेश सचिवमा र कोषाध्यक्षमा बैरागी मोक्तानले जिम्मेवारी पाउनुभएको छ ।
सदस्यहरुमा जिबन बम्जन, जीतु लोप्चन, सुमिना लो, आस्मान लोप्चन, रेश्मा बम्जन, मिलन थिङ, मिन योञ्जन, बसन्ती लामा, लक्ष्मी स्याङतान,शुभ तामाङ, प्रतीक मोक्तान, मदन घलान, अभि लामा, प्रकाश वाईबा र त्रिलोक लामा रहनुभएको छ ।
वरिष्ठ सञ्चारकर्मी अमरध्वज लामा नेतृत्वको निर्वाचन मण्डलले बन्दसत्र हलको भावना अनुसार नै सर्वसम्मत रुपमा संघको कार्यसमिति निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
नव निर्वाचित अध्यक्ष काल्तानले संघलाई एकतृत र बलियो रुपमा उभ्याउँदै समुदाय, तामाङ भाषा, संस्कृति, कलाको प्रवद्र्धन एवं विकासका साथै कलाकारहरुको हकहितका पक्षमा थप स्थापित गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
तामाङ भाषा, संस्कृति, कलाको विकास एवं तामाङ कलाकर्मीहरुको पेशागत हकहितका लागि स्थापना भई महत्वपूर्ण भुमिका खेल्दै आएको संघको नवौं अधिवेशन शनिबार दिउँसो लामाको साङ पश्चात वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले छ्युमे बालेर उद्घाटन गर्नुभएको थियो ।














