काठमाडौं–बुद्ध धर्ममा भएको संकट र संस्कार एवं नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबारदेखि स्वयम्भूमा शुरु भएको छ ।
नेपाल बौद्ध शान्ति समाजद्धारा आयोजित कार्यक्रमको खेन्पो मुनसेल दोर्जेले एक औपचारिक समारोहका बीच उद्घाटन गर्नुभयो ।
स्वा रिग्पा (बुद्धकालीन परम्परागत चिकित्सा बिज्ञान), आम्ची प्रशिक्षण, लो दोक नाम्पाशी (चार संयुक्त पुर्वागत अभ्यास) सम्बन्धी प्रवचन तथा नेतृत्व बिकास सम्बन्धी दुइदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन लगत्तै उद्घाटन लगत्तै खेन्पो मुनसेल दोर्जेले बुद्ध धर्म प्रवचन दिनुभयो ।
उहाँले दोग नाम्पाशीको बिषयमा धर्म प्रवचन गर्नुभएको हो । उहाँले धर्म र कर्मका विषय उजागर गर्नुभयो । जीवनमा दुःख पाएपनि सुख पाएपनि त्यसको कारण मानिस आफैं रहेको त्यो कर्मको फल भएको बताउनुभयो । दुःखबाट मुक्ति पाउन बुद्धत्व प्राप्तीको बाटोमा लाग्नुपर्ने खेन्पोको निचोड थियो ।
साथै पहिलो दिनको कार्यक्रममा डा. तेन्जिङ दार्गे गुरुङज्यूले स्वा रिग्पाको बिषयमा प्रवचन, प्रशिक्षण दिनुभयो ।
दुइदिने कार्यक्रम अन्तरगत २३ गते आइतबार सिक्किमबाट आउनुभएका खेन्पो छिरिङ दोर्जे रिम्पोछेज्यूबाट माणी र डोल्माको आगम(लुङ) प्रदान तथा धर्म प्रवचन एवं धर्मगुरु खेन्पो फुरी शेर्पाबाट नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण हुने समाजका अध्यक्ष लोपोन कर्म तेन्जिङ लामा पाल्साङ बज्रले जानकारी दिनुभयो ।
उहाँले तामाङ समुदायमा गरिने बुद्ध धर्म संस्कार तथा कर्मकाण्डीबारे प्रशिक्षणका साथै यसबारे कार्य निर्देशिका समेत बनाएर जारी गर्ने बताउनुभयो ।
‘समुदाय एउटै धर्म एउटै भएपनि विभिन्न पद्धतिबाट गर्ने गर्छौं ।’, अध्यक्ष लामाले भन्नुभयो– ‘कुन छ्योअी पढ्दा अझ राम्रो हुन्छ भन्ने कुरा गाउँका सबै लामाहरुलाई वोध छैन त्यसैले जन्मदेखि मृत्यु संस्कारसम्म कुन पुस्तक पढ्ने, विनयहरु के गर्ने ? भन्ने विषय समेत हाम्रो प्रशिक्षण कार्यक्रममा रहेको छ ।’
प्रशिक्षण कार्यक्रममा बुद्ध धर्म संघका लामा सदस्यहरु, आनि, उपासक उपासिका तथा म्हानिपा समूहका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको छ ।
आयोजक संस्था नेपाल बौद्ध शान्ति समाजका अध्यक्ष लोपोन कर्म तेन्जिङ लामा पाल्साङ बज्रका अनुसार दोस्रो दिन आइतबारको प्रशिक्षण विहान ७ बजेदेखि शुरु हुनेछ भने बेलुकी ५ बजे समापन गरिनेछ ।















