काठमाडौं–तामाङ  चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, नेपाल चलचित्र विकास बोर्डको हल चाबहिलमा विशेष प्रदर्शन हुने भएको छ ।

तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित हुत्त सञ्जय लामा निर्देशित पछिल्लो चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ मोफसल हेटौंमा प्रदर्शन पश्चात राजधानीमा प्रदर्शन गरिन लागेको हो ।

तामाङ सामाजिक तथा सांस्कृतिक परिवेश, परम्परा र भावनात्मक सम्बन्धको कथालाई उधिनेको चलचित्रले तामाङ मौलिकतामाथि युवा पुस्ताको दृष्टिकोण समेत उजागर गर्ने निर्देशक एवं नायक हुत्त सञ्जय लामाले जानकारी दिनुभयो ।

यसअघि दार्बुङ, क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया, बिच्छी, कसम तिमीलाई, जम्काभेट, दुवाली, सानु लगायत एक दर्जन चलचित्रमा नायक एंव निर्देशकको रुपमा अभिनय र निर्देशन गरिसकेका लामाले ‘ए ङाला ह्राङ्बा माया’ पनि उत्कृष्ट चलचित्र बनेको दाबी गर्नुभयो ।

चलचित्रको कथा बस्तुले आफूलाई निकै मन छोएको बताउँदै नायिका सुनिता लुङ्बाले कथाले न्याय पाउने गरी आफू लगायत सिंगो टिमले उत्कृष्ट काम गरेकोले चलचित्र पनि उत्कृष्ट बनेको बताउनुभयो ।

यस अघि छार केवा, दोखाङ, छार ग्यालम, धिमनाम, मायाला म्हेन्दो, म्लाङ प्वाँहार, दार्बुङ, काख्रे, ब्रेल्साङ लगायत दर्जन चलचित्रमा उत्कृष्ट अभिनय कला प्रस्तुत गरिसक्नुभएका नायिका लुङ्बाले ‘ए ङाला ह्राङ्बा माया’ दर्शकहरुलाई सहज बनाउने गरी विहान ९ बजे र ११ बजे गरी दुई शो प्रदर्शनको तयारी भएको जानकारी दिनुभयो ।

यस चलचित्रका निर्मातामा लोसाङ लामा र इकेश लामा रहनुभएको छ । चलचित्रको सहनिर्देशक विश्वजंग माझी, द्वन्द्व निर्देशन राजु दोङ तामाङ र छायांकन प्रज्वल राउतले गर्नुभएको हो ।

चलचित्रमा नायक हुत्त सञ्जय लामा र नायिकामा सुनिता लुङ्बाका साथै तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन लगायतका कलाकारहरुको सशक्त भुमिका रहेको निर्माण टोलीले जनाएको छ ।

ट्रेलर यस्तो छ :-

प्रतिक्रिया दिनुहोस !