
रसुवा–भोटेकोसी नदीमा मंगलबार बिहान बाढीले धनजनको क्षति गराएको छ । बाढीले बगाउँदा ११ जना बेपत्ता भएका छन् भने नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ ।
बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार रसुवा भन्सार कार्यालयको यार्डमा पार्किङ गरेर राखेका गाडीमा रहेका ११ जना बाढीमा बेपत्ता भएका हुन् ।
बाढीमा फसेका र बेपत्ता भएका मानिसहरुको उद्धार र खोजी मा लागेको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले यो संगै क्षतिको विवरण संकलनको काम थालिएको उल्लेख गर्नुभयो ।
स्थानीयका अनुसार सोमबारदेखिनै आइरहेको सानो बाढी मंगलबार बिहान एक्कासी बढेर आएपछि मानवीय र भौतिक क्षति भएको हो ।
रसुवागढी सुख्खा बन्दरगाहमाथि रहेका चारवटा हिमताल मध्ये कुनै ताल फुट्दा एक्कासी ठूलो बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।
स्रोत : https://nepalkhabar.com/