
काभ्रेपलाञ्चोक– जन्मदिन मनाउने आ–आफ्नै तरिका हुन्छ । शुभकामना आदानप्रदान, भोजभतेर गर्नु त सामान्य नै भयो । पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईले भने समाजिक कार्य गर्दै आफ्नो जन्मदिन मनाउदै आउनुभएको छ ।
नव क्षितिज साप्ताहिकको रजत वर्ष, यसै पत्रिकाका प्रधान सम्पादक रहेका बजगाईंले यो पटक पनि जन्मदिन मानव कल्याणसँग जोड्नुभयो । उहाँको जन्म दिन धुलिखेल–१२,मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ५२ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडा र नगद रु २५ हजार हस्तान्तरण गरेर मनाईएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर प्रकाशित नव क्षितिज साप्ताहिक २०८२ बैशाख ८ गतेबाट २५ वर्ष प्रवेश गरेकोमा वर्षभरी रजत वर्ष मनाउने कार्यक्रम तथा नव क्षितिज साप्ताहिकका प्रकाशक प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका नवराज बजगाइको असार १८ गते र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी बुधबार धुलिखेलमा रहेको मानव कल्याण समाजको सेवा घर शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडाहरू र नगद सहयोग गर्नुभयो ।
उहाँले गत वर्षका जन्मदिन र अवसरहरूमा पनि यही सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दै आउनुभएको छ ।
कार्यक्रममा बनेपा नगरपालिकाका उप–प्रमुख बिमला सापकोटा दाहाल, नव क्षितिज साप्ताहिकका नवराज बजगाई, अरबिन्द्र गौतम, दिपक राउतलगायतले धुलिखेल–१२ का पुर्व वडा अध्यक्ष एवं सेवा घर व्यवस्थापन समितिका संयोजक हर्कसिं तामाङलाई रु पच्चिस हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । साथै सेवा घरका अभियान्ता सुरेश र जीवनराजालाई खाद्यान्न र फलफुल तथा सरसफाईका सामग्री हस्तान्तरण गरिएको थियो ।
खाद्यान्न नुन, जिरा मसला, चिउरा, मस्यौरा, साबुन, डेटोल, फिनेल, सरफ, फलफूल, र लत्ता कपडा हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै पत्रकार बजगाईले सेवा घर शूरु भएदेखि नै यहि आएर सक्दो सहयोग गर्ने गरेको बताउनुभयो । देखाउन भन्दापनि समाजलाई सु–संस्कृत सिकाउन यसो गरेको भन्दै आँफुले शुरु गरेपछि देखेर, सुनेर र सिकेर धेरैले जन्मदिन सेवा घरमा वा अरु कुनै सामाजिक काम गरेर मनाउन थालेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाई सुमी मानवले सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार धुुलिखेलमा ५२ जनासहित बिभिन्न ६ शाखामा गरी अहिले ४ सय भन्दाबढी आश्रित रहेका छन ।
मानव कल्याण समाजको उदेश्य नै खाना, नाना र छाना बिहिन हरुको उद्धार गर्नु रहेकोले मानविय कार्यमा जोडिन सबैमा आग्रह गर्नुभयो । मानविय सेवाको लागि ८ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो ।