
- अनिषा श्रेष्ठ-
नेपालमा विवाहलाई परम्परागत रूपमा दुई परिवारबीचको सम्बन्धका रूपमा लिने गरिन्छ । पहिलेका पुस्ताले विवाहलाई व्यक्तिगत भन्दा सामाजिक र पारिवारिक जिम्मेवारीका रूपमा हेर्थे । तर अहिले नेपाली युवाहरूको सोचमा परिवर्तन आउन थालेको छ । लभ म्यारिजको संख्या बढ्दै गएको छ, अरेञ्ज म्यारिजको परिभाषा पनि फेरिँदै गएको छ र केही युवायुवती सिंगल रहनै मन पराउने गरेका छन् ।
पहिलेका दिनहरूमा नेपाली समाजमा विवाह भनेको प्रायः अभिभावकको निर्णयअनुसार हुने गथ्र्यो । अर्रेंज म्यारिज सबैभन्दा सामान्य थियो, जहाँ दुवै पक्षका परिवार बसेर विवाहको निर्णय गर्थे । प्रेम विवाह -लभ म्यारिज०-भने कमै हुन्थ्यो, र भए पनि समाजले त्यसलाई राम्रो नजरले हेर्थेन । अहिले भने धेरै युवा प्रेम सम्बन्धमा बसेर विवाह गर्न चाहन्छन् । उनीहरू जोडीबीचको आपसी समझदारी र भावनात्मक सम्बन्धलाई प्राथमिकता दिन्छन् । लभ म्यारिजलाई समाजले पहिलेभन्दा बढी स्वीकृति दिन थालेको छ, तर अझै पनि कतिपय ठाउँमा जात, धर्म, परिवारको प्रतिष्ठा जस्ता कुराहरूले अवरोध सिर्जना गरिरहेका छन् ।
अरेञ्ज म्यारिज पनि अब पहिलेको जस्तो छैन । पहिले परिवारकै रोजाइमा बिहे गर्नुपर्ने बाध्यता थियो, तर अहिले धेरै अर्रेंज म्यारिजहरूमा केटा–केटीलाई एकअर्कालाई चिनेपछि मात्रै निर्णय गर्ने छुट दिइन्छ । अर्कोतर्फ, केही युवाहरू विवाहलाई अनिवार्य जिम्मेवारीका रूपमा हेर्न छोडिसकेका छन् ।
उनीहरू आफ्नै करियर, स्वतन्त्रता र व्यक्तिगत जीवनलाई प्राथमिकता दिन चाहन्छन् । सहरी क्षेत्रमा विशेषगरी करियर बनाउन व्यस्त युवायुवतीहरूले विवाह गर्न हतार गर्दैनन् । केहीलाई विवाहको झन्झट मन पर्दैन, त केहीलाई एकल जीवन नै सहज लाग्छ । परिवार र समाजबाट बिहे गर्न दबाब आए पनि, अहिले धेरैले ‘जब आफैंलाई ठीक लाग्छ, तब मात्र बिहे गर्छु’ भन्ने सोच राख्न थालेका छन् ।
समाजमा अझै परम्परागत सोच कायम भए पनि युवाहरूको विवाहप्रतिको धारणा धेरै हदसम्म परिवर्तन भएको छ । पहिले जसरी ‘विवाह नै जीवनको एउटा अनिवार्य भाग हो’ भन्ने सोच थियो, त्यो विस्तारै कमजोर हुँदै गएको छ ।
अहिले प्रेमलाई महत्त्व दिने, समझदारीलाई प्राथमिकता राख्ने, अनि विवाहलाई व्यक्तिगत रोजाइका रूपमा लिने प्रवृत्ति बढ्दै गएको छ । यो परिवर्तनले नेपाली समाजमा वैवाहिक सम्बन्धको स्वरूपलाई नयाँ मोडमा लगिरहेको छ ।