
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’को शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । विसं २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन ७५ करोड ८७ लाखमा निर्माण भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गरे भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरे ।