
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गरेका छन् ।
नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने स्पष्ट पारे ।
उनले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हीनताभाव पाल्नुपर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गरे । राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरूलाई महत्त्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररूपमा आफूलाई प्रस्तुत गर्ने बताए ।
प्रधानमन्त्री ओलीले संसद्मा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसद्लाई जिउँदो जाग्दो बनाउन सांसदहरूलाई सुझाव दिए । कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदँलिदो भू–राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरूले कार्यपत्र प्रस्तुत गरे ।