
-
लोक बहादुर लामा
फोक्सिङ्टार–काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नम्वर ३ फोक्सिङटारस्थित बुद्ध आधारभूत विद्यालयमा अध्ययनरत तामाङ र दलित समुदायका विद्यार्थीहरुलाई कान्छीमाया तामाङ फाउण्डेशन धुलिखेलले विद्यालय पोशाक, झोला र स्टेशनरी सामाग्री सहयोग गरेको छ ।
विद्यालय प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि फाउण्डेशनका अध्यक्ष डा.दिल बहादुर थोकरले विद्यालयका ३५ बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष थोकरले ग्रामिण भेगमा रहेको विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै नयाँ नेपाल निर्माण गर्ने जग नै आजको बालबालिका भएकोले आफ्नो संस्थाले ग्रामीण भेगमा रहेका स्कुलले बालबालिका तथा खास गरी आफ्ना अभिभावक गुमाएका बालबालिकाको शिक्षा र स्वास्थ सुधारमा काम गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले फाउण्डेशनले सके जति शिक्षा र स्वास्थका साथै अन्य क्षेत्रमा समेत महाभारत र खानीखोला गाउँपालिकामा काम गर्ने योजना रहेको जानकारी गराउनुभयो ।
यसैक्रममा फाउण्डेशनले विगत देखी नै महाभारत र खानीखोला गाउँपालिकामा सहयोगका कार्यक्रमहरु गर्दै आउने क्रममा गत मङ्सिरमा मात्रै खानीखोला गाउँपालिका स्थित कुमारी आवसिय माविको छात्रावासमा खाद्यान्न लगायत शैक्षिक सामाग्री र पोशाक वितरण गरेको बताउनुभयो ।
यस खालको सहयोग नियमित रुपमा गर्ने गरी फाउण्डेशन अघि बढेको र केहि विद्यालयसँग सम्झौता समेत गरिएको अध्यक्ष थोकरले जनाउनुभयो । फोक्सिङटारस्थित बुद्ध आविलाई पनि थप आवश्यक सहयोग गर्न सकिने उहाँको भनाई छ ।
कार्यक्रममा महाभारत गाउँपालिका वडा नं. ३ का पूर्व वडा अध्यक्ष ज्ञान बहादुर मोक्तान ,गाउँकार्यपालिका सदस्य सानु विकले ग्रामीण भेगमा आएर सानो नानीबाबुको शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा सहयोग गरेकोमा फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोम बहादुर घलानले भोलिका कर्णधार बालबालिकाको उज्वल भविश्य निर्माणमा फाउण्डेशनको यस खालको सहयोगले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक योजनाका साथ आफूहरु अघि बढ्ने क्रममा प्राप्त सहयोगका लागि सहयोगी फाउण्डेशनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक कमला मोक्तान लगायतका शिक्षकहरु,तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष एवं फाउण्डेशनका कार्यक्रम संयोजक लोक बहादुर लामा,वडा समिति सदस्य दुर्गमाया विक,युवा समाजसेवी राजु लामा लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।