सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताएकी छन् ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा महासङ्घ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीको शनिबार धनगढीमा भएको पदस्थापन समारोहमा उनले मुलुकको विकासका लागि आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको बताइन् ।
उनले कांग्रेस–एमाले गठबन्धन सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेख्न आग्रह गरिन्। सत्ता गठबन्धन पुरै अवधि जाने र सरकार सहजीकरणका लागि दुई दलको कार्यदल बनेको परराष्ट्रमन्त्री राणाले बताइन्। उनले वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रुपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित रहेको समेत बताइन् । उनले आर्थिक तथा समाजिक विकासका लागि देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको बताइन् ।
त्यस अवसरमा उनले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिता जगतको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् ।