काभ्रेपलाञ्चोक–सिटिजन लाइन इन्स्योरेन्स कम्पनीले जिल्लाको रोशी गाउँपालिकामा रहेको मंगल जन विजय मावि र शान्ति बुद्ध आधारभुत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरेको छ । मंगल जनविजयका ४०० जना र शान्तिबुद्धका ४७ जना विद्यार्थीहरुलाई हालै एक कार्यक्रमको आयोजना गरी ट्रायक सुट वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई जाडोमा राहत स्वरुप विद्यालय पोषाक वितरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख नायव कार्यकारी अधिकृत दिप बहादुर बिसीले बताउनुभयो ।
गत असोजको वर्षाले काभ्रेमा क्षति भएको क्षेत्रका बालबालिकाहरुलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो । बिसीका अनुसार यसले विद्यार्थीको पढाइमा सहज हुने विश्वास छ । इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापक भूषण रिमालले असहज परिस्थितिमा भोलिको देशको कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामनासाथ सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी शंख बुद्ध लामाले आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा इन्स्योरेन्स कम्पनीलाई धन्यवाद गर्दै बिमा बुढेकालको सहारा हुने भएको बिमा गर्नु पनि राम्रो रहेको धारणा राख्नुभयो ।
इन्स्योरेन्सका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले स–साना बालबालिकाहरुको मुहारमा खुसी देख्दा खुसी लागेको बताउँदै बीमा सबैको लागि अवश्यक भएकोमा जोड दिनुभयो । बिमाले मानिसमा हुने आर्थिक नोक्सानीलाई न्युनिकरण गर्न सकिने उहाँको भनाई छ ।
युवा समाजसेवी एवं इन्स्योरेन्समा एजेन्सी मेनेजर अशोक बुद्ध लामाले बिमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने र त्यसको लागि आफुलाई सम्झिन अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर लामाले बालबालिकाहरुलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो । यसबाट बीमाले बिमा मात्रै नभइ समाजिक काम पनि गर्दा रहेछ भन्ने जनामानसमा सन्देश गएको उहाँको भनाई छ ।