काभ्रे । धुलिखेल नगरपालिकाको नगर सभाको सोह्रौं अधिवेशनले आर्थिक वर्ष ०८१/८२ को बजेट तथा कार्यक्रम संशोधन गर्ने निर्णय गरेको छ ।

विशेष सभाको आयोजना गरी गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षातका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यसपछि भएको खोज तथा उद्धार, उपचार र पुर्ननिर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्न पुर्व विनियोजन गरिएका ७५ वटा योजनाहरुको बजेट शंशोधन गर्ने सभाले निर्णय गरेको हो।नगरपालिकाको वडा नं १,२, ३, ८, ९, १०, ११ र १२ नं वडा बाढी र पहिरोबाट बढी प्रभावित छन् ।

नगर सभाले नगरपालिकाको कर्मचारी व्यवस्थापन सम्बन्धि (विशेष) विधेयक,नगरपालिकाको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१,आर्थिक ऐन तथा राजश्वका दररेट संसोधन गर्ने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । त्यस्तै नगर सभामा धुलिखेल, पनौती नगरपालिका, पनौती वडा नं १२ र धुलिखेल खानेपानी उपभोक्ता समिति बीच भएको सहमति सर्वसम्मतरुपमा अनुमोदन गरेको छ ।

नगर सभाले पास गरेको विधेयक मध्ये महत्वपूर्ण विधेयकका रुपमा विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन विधेयक २०८१ रहेको छ । विभिन्न क्षेत्रका ब्यक्तिहरु सदस्य रहने गरी नगर प्रमुखको संयोजकत्वमा विपद ब्यवस्थापन समिति गठन गर्ने, वडा स्तरीय समिति गठन गर्ने, विपद ब्यवस्थापन सम्वन्धी विभिन्न कार्य गर्ने गरी ब्यवस्था गरिएको छ ।कर्मचारी ब्यवस्थापन सम्वन्धी विशेष विधेयक २०८१ मा अविछिन्न रुपमा कार्यरत कर्मचारी २०६४ साल आश्विन मसान्त सम्म साविक स्थानीय निकायको स्वीकृत दरवन्दीमा अस्थायी÷करारमा नियुक्त भई कार्यरत रहेका कर्मचारीहरुको ब्यवस्थापन गर्नेछ ।

सभाले पुर्वाधार सम्वन्धी, खानेपानी, यातायात पुर्वाधार, भवन, आवास तथा शहरी विकास, वडा विशेष अनुदान, नगरस्तरीय भैपरी योजना, समपुरक तथा साझेदारी संघ र प्रदेशका योजनामा विनियोजन गरेको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।सभाले नगरपालिकाले धुलिखेल खानेपानी सरसफाई तथा उपभोक्ता समिति र पनौती वडा नम्वर १२ सँग अलग्गै सम्झौता गरेको थियो । जसमा ६ वटा बुँदा समावेश गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !