पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी र स्वदेशी लगानीका क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने बताएकी छिन्। त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी हुन्।

मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास, निर्माणमा लगानी बढाउँदै जानुपर्ने पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरिन् । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाई व्यावसायिक बनाउनुका स्थानीयस्तरमा उद्योग स्थापना गरी स्वदेशी माग पूरा गर्नुपर्नेमा उनको जोड छ।

विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।

हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालसहित हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्बन उत्सर्जनमा प्रमुख योगदानकर्ताका रूपमा विकसित र औद्योगिक राष्ट्रहरूले जलवायु सङ्कटको जिम्मेवारी लिनुपर्ने धारणा राखिन् ।

 

प्रतिक्रिया दिनुहोस !