ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था सुधार गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताए का छन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुख हेरेर नभइ अपराध हेरेर कारबाही गरिने बताएका हुन्।
सरकार देशलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा लागेको र भ्रष्टहरुलाई नछाडने उनले बताए । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।
व्यवस्था बदलियो,अवस्था बदलिएन भन्ने भ्रम फैलाइएकाप्रति सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गरे । उनले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभइ रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड वा तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक सहर ललितपुर भएकाले यहाँका सम्पदाको संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रवद्र्धन गरेर पर्यटन विकासमा योगदान गर्न सकिने बताए ।