रुपन्देही । गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रको तस्करी र राजश्व चुहावट रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबारदेखि भैरहवामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट रोक्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले राजस्वमा तलमाथि हुने कुरा, तस्करी गर्ने कुरा, सिमानामा अपराधजन्य गतिविधि परिणाममुखी ढंगले नियन्त्रण गर्नुपर्ने बताए। संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपनृ भएकाले त्यसका लागि यस्ता गोष्ठी महत्त्वपूर्ण हुने उनी बताउँछन् । शान्ति सुरक्षा खलबलिने वित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वसर्त नै शान्तिसुरक्षा रहेको उनको भनाई छ ।
लुम्बिनीमा लागूऔषध, विद्युत्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध रहेको पनि गृहमन्त्री लेखकले औँल्याए । लुम्विनी बुद्ध जन्मस्थल भएको कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो र विश्व शान्तीको मुहान भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त र भरपर्दो हुनुपर्ने उनको भनाई छ ।
यसैगरी, गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने समेत बताए । अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको उनको भनाइ छ ।