काठमाडौं । सरकारले काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

गत बिहीबार र शुक्रबारका मन्त्रिपरिषद्का निर्णय सोमबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एव् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जापान फण्ड फर प्रसपोरस एण्ड रेजिलेन्ट एसिया एण्ड द प्यासिफिकबाट प्राप्त हुने तीन मिलियन अमेरिकी डलर अनुदान सहायता पनि स्वीकार गर्ने भएको छ ।

सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर करिब ११ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै, अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई सम्मान गर्ने भएको छ ।अन्तर्राष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियाका ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

सरकारले निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । यस्तै एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !