सिन्धुपाल्चोक ‐ परम्परागत ताम्बा संस्कृतिको संरक्षण तथा विकासका लागि सिन्धुपाल्चोक लिसंखु(ह्रिस्याङ्गो)पाखर गाउँपालिकाका ताम्बा, स्थानीय अभियन्ताहरु उत्साहित भएर लागेका छन् ।

पछिल्लो समय तामाङ समुदायको संस्कार संस्कृतिमाथि प्रहार हुन थालेको भन्दै स्थानीय ताम्बाहरु आफ्नो सभ्यता र संस्कृति विकास एवं प्रवद्र्धनमा जुर्मुराएका हुन् । यसमा गाउँपालिकाले पनि हौसला दिएको छ ।

स्युगापाखरमा शुक्रबार आयोजित पालिका स्तरीय दोस्रो बृहत ताम्बा सम्मेलनलाई सम्बोधन गर्दै गाउँपालिका आध्यक्ष राजु लामाले तामाङ संस्कृतिको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणको जिम्मेवारी सबैको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, —‘धर्म,संस्कृति, संस्कार हाम्रो मौलिक पहिचान हो । संसारको जुनसुकै कुनाका मानिसहरुमा मानवताको नाता त होला तर संस्कृति परम्परा,संस्कारले उसलाई पहिचान दिलाउँछ, त्यसैले ताम्बाहरुलाई भेला गर्ने,संस्कृति आदानप्रदान गर्ने, अन्तरक्रिया गर्ने गरी यो सम्मेलन आयोजना गर्न हामीले नीति तथा बजेटमार्फत सहयोग गरेका हौं ।’

गाउँपालिका उपाध्यक्ष मिठु देवी लामा तामाङले गाउँपालिकामा ताम्बाहरु संगठित भएर ताम्बाखोर संघ गठन भएदेखि गाउँपालिकाले सहयोग गर्दै आएको उल्लेख गर्दै संस्कृति संरक्षणको सवालमा अब अरुको मुख नताकि सबै आआफ्नो ठाउँबाट जागृत हुने विश्वास व्यक्त गर्नुभयो ।

‘हामी आफैंले पनि आफ्नो धर्म संस्कृति जोगाउन ताम्बा संस्कृति जस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, हामी सबै लाग्नुपर्छ ।’‐उपाध्यक्ष तामाङले भन्नुभयो ।

ताम्बा तथा स्थानीयहरुमाझ प्रशिक्षणका लागि आउनुभएका तामाङ इतिहास, संस्कृतिका अनुसन्धानकर्ता एवं लेखक रविन्द्र ग्यावक तामाङले ह्रिस्याङ्गु पाखरमा देखिएको ताम्बा जागरणले सबै तामाङहरुमाझ सकारात्मक उर्जा प्रवाह गरेको बताउनुभयो ।

तामाङ संस्कृति,डम्फू र ताम्बाको ऐतिहासीक, सांस्कृतिक, सामाजिक मान्यता र महत्वबारे प्रशिक्षणात्मक मन्तव्य राख्नुभएका उहाँले भन्नुभयो,‐‘ताम्बा सम्मेलन र स्थानीय ताम्बाहरुमा देखिएको उत्साहले आफ्नो पहिचानको बारेमा हामी पुर्नजागृत हुनुपर्छ भन्ने सन्देश दिएको छ ।’

उहाँले लोप हुन लागेका संस्कृतिलाई खोज, अनुसन्धानका साथै यसका विविध आयाम केलाएर पुस्तकमा अभिलेखन गरेमा संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणमा महत्वपूर्ण सघाउ पुग्ने सुझाव पनि दिनुभयो ।

अगुवा ताम्बा बैनबहादुर घिसिङले ह्रिस्याङ्गुपाखरमा तामाङ संस्कृति, संस्कार लोप हुने देखिएपछि स्थानीय सरकारसँग सहकार्य गरी यस खालको कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

ताम्बाखोर संघ लिसंखुपाखर गाउँपालिका कमिटिका अध्यक्ष रहेका घिसिङका अनुसार जागरणमुखी कार्यक्रमकै लागि प्रारम्भमा २०७९ मा यहाँ ताम्बाघोर संघ स्थापना गरी ताम्बाहरुलाई संगठित गरिएको छ ।

दुई वर्षमा पालिकाको ७ वटै वडामा पुगेको ताम्बाखोर संघले वडा नं. ७ स्युगापाखरमाझैं अन्य वडाहरुमा पनि ताम्बा भेला, प्रशिक्षण जस्ता कार्यक्रम गर्दै जाने योजना रहेको पालिका कमिटिका अध्यक्ष घिसिङले बताउनुभयो ।

स्थानीय बुद्धिजीवि लक्ष्मण घिसिङले ताम्बा ह्रिमठिम हराए समाज विचलनमा जाने र अस्तित्व नै सकिने भन्दै ताम्बा ह्रिमठिम जोगाउन यस खालको कार्यक्रम भएकोमा खुसी व्यक्त गर्नुभयो । यस खालको कार्यक्रम ताम्बा संस्कृतिको जरासम्म पुग्नेगरी गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

सम्मेलनमा सहभागि डाँडापाखरका विष्णुमाया तामाङले यति धेरै ताम्बा, डम्फूरेहरुको भेला पहिलोपटक देखेको भन्दै ताम्बा गीत र संस्कृतिको कुराले रमाईलो लागेको बताउनुभयो ।

‘आपा थोर्साम ह्रुई थोर्ला, आमा थोर्साम ग्युई थोर्ला’ भन्ने चिन्तनका साथ आयोजित दुई दिने कार्यक्रमको पहिलो दिन गाउँपालिकका वडा वडाबाट सहभागि ताम्बा र डम्फूरेहरुको समूहले ताम्बा,डम्फू र तामाङ ह्रिमठिमबारे आआफ्नो प्रस्तुती दिएका थिए ।

ताम्बाले ब्रम्हाण्ड, मानव उत्पतिदेखि तामाङ सभ्यता, ह्रुई ह्रुईबा, यो संगै अघि बढेको संस्कृतिको ज्ञान प्रवाह र निर्वाह गर्ने गर्दछन् । तामाङ समुदायमा बिवाह र घेवा संस्कारमा ताम्बाको मुख्य भुमिका हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !