काभ्रेपलाञ्चोक : जिल्लाको खानीखोला गाउँपालिकामा सयौं लामाहरु कुन्छाम् (गुफा) बस्ने भएका छन् । खानीखोला–५ स्थित ताल्ढुंगामा मंसिर २६ गते उद्घाटन भएसँगै २७ मंसिरबाट भने लामा गुरु खेन्पो सेराप ग्याल्छेनबाट थुन शुरु गर्ने तयारी भएको हो ।

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको अध्यक्ष वीरबहादुर वाइबाले विभिन्न ठाउँको लामाहरुको उपस्थितिमा कुन्छाम् बस्न लागेको जानकारी दिनुभयो ।

उहाँले कुन्छाम् बस्ने लामाहरु अघिल्लो पटक भन्दा यसपटक बढि हुन सक्ने अनुमान गरेको बताउनुभयो । गतवर्ष दुई सय जना लामाहरु विभिन्न चरणमा गरी कुन्छाम बसेका थिए । कुन्छाम् बस्न काभ्रेसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायत जिल्लाबाट लामाहरु उपस्थित हुने आयोजकले जनाएको छ ।

अध्यक्ष वाइबाले अहिंसा र शान्तिमा योगदान र्पुयाउनुका साथै बौद्ध धर्म, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकाससँगै समस्त लामाको हक, हित, भाषा, लिपी, बुद्धको उपदेशहरूको पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो पार्ने, एकरूपता र सरल पार्ने हेतुले कुन्छाम् राखिएको स्पष्ट पार्नुभयो ।

उहाँले तामाङ समाजमा पछिल्ला समय लामाहरू कम हुँदै गएकाले कुन्छाम् मार्फत् लामा पठनपाठनसँगै लामा उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाका सचिव प्रेमबहादुर स्याङ्तानले कुन्साम्ले धार्मिक तथा साँस्कृतिक सम्बन्ध विकास गरी लामाहरूलाई बौद्ध ज्ञानसहित संगठित तथा उत्पादन गर्न टेवा पुग्ने बताउनुभयो ।

उहाँले कुन्छाम्मार्फत बौद्ध धर्मको प्रचारप्रसार, प्राणी तथा अप्राणी सत्वहरूको मुक्ति, अहिंसा र शान्तिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले कुन्छाम् राख्न लागेको खबरले आफू निकै खुशी भएको बताउँदै यसले खानीखोलाको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले कुन्छामले खानीखोलालाई धार्मिक पर्यटनको रुपमा चिनाउनु मद्दत गर्ने बताउनुभयो । उहाँले आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको आयोजनामा हुन लागेको कुन्छाम्को लागि गाउँपालिकाबाट आवश्यक सहयोग तथा समन्वय हुने जनाइएको छ ।

एकै पटक ठूलो संख्यामा उपस्थित हुँदा व्यवस्थापन गर्न असहज हुने देखिएकोले कुन्छाम्मा सहभागी हुने लामाहरुलाई आयोजकसँग सम्पर्क गरी नाम टिपाउनसमेत पालिकाले आग्रह गरेको छ ।

कुन्छाम् पुसको मसान्तमा समापन हुनेछ ।

सहयोगका लागि अनुरोध

आयोजकले लामाहरु कुन्छाम् बस्ने क्रममा धेरै खर्च लाग्ने हुँदा इच्छुक व्यक्ति तथा संघरसंस्थाले आवश्यक खाद्यान्न तथा म्याटसहित विभिन्न सामाग्री सहयोगका लागि आग्रहसमेत गरेको छ ।

लामा घेदुङ खानीखोलाका सचिव तितुङले कुन्छाम् बस्ने लामाहरुको लागि खाना र बस्न भने आयोजकले नै व्यवस्था गर्ने बताउनुभयो ।

आयोजकले कुन्छाम् बस्न आउने लामाहरुलाई खाना खाने थाल वा प्लेट, गिलास जस्ता आवश्यक सामाग्री भने आफैँले लिएर आउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !