रोशी‐गत असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै झरेको पहिरोले क्षतिग्रस्त रोशी गाउँपालिका ५ घिसिङटोल स्थित विद्या विकास प्राविमा अध्ययनरत बालबालिकाहरुका लागि सुईटर र शैक्षिक समाग्री वितरण गरिएको छ ।

बाढी पहिरो प्राकृतिक विपत्तिपछि पहिलो पटक यहाँका ३५ बालबालिकाले मंगलबार सुईटरसँगै स्टेशनरी पाएका हुन् । पहिरोले क्षति भए विद्यालयको पढाई असहज भईरहेको बेला अनि जाडो याममा पाएको यो सामाग्रीबाट उनिहरुले राहत महसुस गर्न पाएका छन् ।

राहत लिएर जानेमा कुनै सरकारी वा गैरसरकारी निकाय नभई रोशी ९ पिन्थलीका अगुवा किसान सुर्यलाल तामाङ हुनुहुन्छ ।

विद्यालय प्रांगनमा उपस्थित विद्यार्थी बालबालिका, शिक्षक तथा केहि स्थानीयमाझ उहाँले भन्नुभयो, ‐‘म पनि तपाईंहरु जस्तै खेती किसानी गर्ने मान्छे हो, धेरै त के सक्नु र,बालबच्चा देख्दा धेरै माया लाग्छ,उनिहरुका लागि सुईटर र कपी सिसा लिएर आएँ, बाढी पहिरोपछि हाम्रा गाउँघरमा समस्या उस्तै छ, थोरै भएपनि सबैले एक अर्कालाई सकेको सहयोग गरेमा राम्रो हुन्छ ।’

यस अघि पिन्थलीको स्थानीय स्कुलका लागि जग्गा दान गर्नुभएका सुर्यलालले बालबालिकाको भविश्य निर्माणमा भरपुर साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

यो विपतको बेला एउटा सिसाकलम, कपी ल्याएर दिएपनि ठूलो राहत हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरमान तामाङले बताउनुभयो । सबैको सहयोग आदानप्रदानबाट नै समाज अघि बढ्ने उहाँको धारणा छ ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर तामाङले गत असोजको बाढी पहिरोको विपत्तिपछि पहिलो पटक विद्यार्थीहरुका लागि सहयोग प्राप्त भएको बताउनुभयो ।

कक्षा २ मा अध्यनरत मेनुका विकले जाडोको बेला सुईटर र कपी सिसा जस्ता सामाग्री पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

अधिकांश दलित समुदायका बालबालिकाहरु पढ्ने यो विद्यालयमा उनिहरुका लागि लक्षित गर्दै रोशीका पत्रकार तथा अभियन्ता लोक बहादुर लामाको सहजिकरणमा यो सहयोग पुर्याईएको हो ।

पहिरोको कहर : एउटै कोठामा तीनवटा कक्षाको पढाई सञ्चालन गर्न बाध्य

यो विद्यालय रोशी ५ मा भएका विद्यालयहरु मध्ये पठनपाठनमै समस्या हुने गरी पहिरोले क्षति पुगेको एकमात्र विद्यालय हो । विद्यालयका प्रधानाध्यापक तामाङका अनुसार विद्यालय क्षेत्र माथिबाट झरेको पहिरोले विद्यालयको कक्षाकोठा, कार्यालय कोठा, शौचालय संरचना क्षतिग्रस्त भएको छ ।

यहाँ विद्यलायको तीनवटा ब्लकमध्ये दुई वटा कोठा रहेको तल्लो पट्टिको ब्लकमा ५ वटा क्लास सञ्चालन गर्दै आएको पाईएको छ ।

उक्त ब्लक समेत भासिएर चर्किएको त्यसमा पनि एउटै कोठाभित्र तीन वटा कक्षाका विद्यार्थीहरु राखेर पढाई सञ्चालन गर्नुपर्दा निकै समस्या भएको शिक्षकहरु बताउँछन् ।

अस्थायी सिकाई केन्द निर्माण वा स्थानीय सरकारले दायाँ छेउ पट्टिको ब्लकको सरसफाई तथा मर्मत सम्भारको अवस्था सिर्जना गरिदिएमा केहि राहत हुने प्रधानाध्यापक तामाङको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरमान तामाङले कम्प्युटर, टेबल, कुर्सी, बेञ्च लगायत सबै जसो सामाम्री क्षतिग्रस्त भएको विद्यालय सहज ढंगले सञ्चालनका लागि स्थानीय सरकारलाई सहयोग मागेको बताउनुभयो । तत्काल पहिरो पन्छाउने कार्य गर्न प्राविधिक पठाउने बताएपनि ढिलाई भएको उहाँको भनाई छ ।

अध्यक्ष वीरमान तामाङ र प्रधानाध्यापक शेर बहादुर तामाङले विद्यालयको भौतिक संरचना लगायतमा सहयोग गर्न सबै सहयोगीहरुमा अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !