सय दिनमा सरकार ७० प्रतिशत सफल : ओली

काठमाडौं‐प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व थालेयता एक सय दिनमा भएको उपलब्धि सार्वजनिक गरिएको छ । आफ्नो नेतृत्वको सरकारले सय दिनमा गरेका उपलब्धि बुधबार सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यको ७० प्रतिशत काम सरकारले पूरा गरेको बताउनुभयो । उहाँले प्रकृति प्रतिकूल भएका कारण बाँकी ३० प्रतिशत काम गर्न नसकेको तर्क गर्नुभयो ।

सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, बाढीपीडितलाई राहत र पुनःस्थापनामा सरकार असफल भएको टिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीले भने उल्लेख्य काम गरेको दाबी गर्नुभएको हो । ‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २ सय ७४ वटा थियो । तीमध्ये १ सय ८५ काम सम्पन्न भएका छन् । प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी काम पनि यो सरकारले पूरा गथ्र्यो,’ उहाँले भन्नुभयो ।

नयाँ सरकार बनेपछि विपद्जन्य ७ हजार १ सय ३५ वटा दुर्घटना भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो  । विपत्तिबाट प्रभावित परिवारलाई तत्काल उद्धार, राहत वितरण, अत्यावश्यक भौतिक पूर्वाधार निर्माण र सेवा सञ्चालनलाई प्राथमिकतामा राखेर सरकारले काम गरेको उहाँको भनाई छ । ‘बाढीपहिरोका कारण मृत्यु भएका ३ सय ९१ जनाको परिवारले २ लाखका दरले राहत पाएका छन् ।

बाढीपहिरोबाट प्रभावित २ हजार ५ सय ५५ परिवारलाई ४ करोड ५० लाख रुपैयाँ तत्कालै राहत प्रदान गरिएको छ,’ उहाँले भन्नुभयो, ‘संकटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।’ संकटग्रस्त क्षेत्र घोषणा गरिएका क्षेत्रमा खानेपानी, विद्युत्, सडक, सञ्चारलगायतका अत्यावश्यक सेवा १५ दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याउनुलाई सरकारको उपलब्धिका रूपमा प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो  । सहकारीको रकम ठगी गर्ने ६ सयभन्दा बढीलाई कानुनी कारबाही गरिएको र ५ सय ७५ भन्दा बढी जेलमै रहेको उहाँले जानकारी दिनुभयो । ‘सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’

प्रधानमन्त्री ओलीले विपक्षी दलतर्फ संकेत गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासनलाई एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बनाउन नहुने बताउनुभयो । ‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामरालाई होइन, कानुनलाई गुरु मानेको छ । भ्रष्टाचारी समातियो भनेर केही समय हल्ला मच्चिने तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापना गर्ने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ,’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचारको कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्त्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौं ।’

अर्थतन्त्रमा सुधारका संकेत देखिएको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो  । परिणमस्वरूप, एक सय दिनको अवधिमा २ सय उद्योगमा करिब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको उहाँले बताउनुभयो । लामो समयदेखि खस्केको सेयरबजारमा यहीबीचमा सुधार आएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । सरकारको एक सय दिनको अवधिमा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन सरकार सफल भएको जनाउनुभएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक यही अवधिमा सर्वसम्मतिबाट स्वीकृत र प्रमाणीकरण भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले एक वर्षअघिको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र आसपासका जिल्लामा पुनर्निर्माण छिट्टै अघि बढ्ने बताउनुभयो  । एक सय दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत र ३२.५ किलोमिटर सडक कालोपत्र गरिएको तथ्यांक उनले प्रस्तुत गर्नुभयो ।

दूधको बक्यौता र उखुको अनुदान रकम किसानले पाउनुलाई पनि सरकारको उपलब्धिका रूपमा प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । बितेको एक सय दिनमा लगभग १५ लाख दुग्ध किसानले ६० करोड रुपैयाँ र करिब ७५ हजार उखु किसानले अनुदान भुक्तानी पाएको उहाँले जनाउनुभयो  ।

यहीबीचमा किसानलाई बिमाबापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बिमा प्राधिकरणको खातामा पठाइएको पनि सरकारको तथ्यांक छ । निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये संघीय मन्त्रालयबाट ६ अर्ब ७५ करोड रुपैयाँ यस अवधिमा भुक्तानी दिइएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

उद्योग मन्त्रालयले खुला आवेदनका माध्यमबाट १६५ युवालाई बिनाधितो २५ लाख रुपैयाँसम्म ‘स्टार्टअप कर्जा’ प्रवाह गरेको तथ्यांक ओलीले प्रस्तुत गर्नुभएको छ  । ती युवाले व्यवसाय सञ्चालन गरेर कर्जाको सावाँरब्याजको किस्ता भुक्तानीसमेत सुरु गरेको उहाँले जनाउनुभयो ।

प्रतिपक्षले राष्ट्रिय एकता बिथोल्न खोजेको आरोप

प्रधानमन्त्री ओली विपक्षी दलप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभयो । ‘सरकार सुशासन र समृद्धिमा असफल भएको’ भन्दै विपक्षी दलले ज्ञापनपत्र बुझाएको दुई दिनपछि बुधबार बोल्ने क्रममा उहाँले सरकार बनेकै दिनदेखि असफल बनाउन लागिपरेको आरोप लगाउनुभयो ।

बाढी, पहिरो र डुबान पीडितलाई उद्धार, राहत र पुनःस्थापना गर्न असफल भएको, दल फुटाउन सहज हुने अध्यादेश ल्याउने तयारी गरेको, मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको जस्ता आरोपसहित विपक्षी पाँच दलले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको एक सय दिन पूरा नहुँदै संसद्मा विशेष समय लिएर कडा आलोचना गरेको सन्दर्भ उल्लेख गर्दै ओलीले देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने प्रयास गरिएको आरोप लगाउनुभयो  । प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिगमनतिर फर्काउने प्रयासलाई विफल पार्ने बताउनुभयो ।

फोटो /समाचार : कान्तिपुर

प्रतिक्रिया दिनुहोस !