तेमाल–पहिरो झरेर अवरुद्ध बनेको तेमाल गाउँपालिका वडा नं. २ भित्रका अधिकांश सडकहरु पूर्ण रुपमा सुचारु भएका छन ।
वडा कार्यालयको तदारुकता एवं अहोरात्र सक्रियताले बिहिबारसम्ममा प्राय सडकहरु खुलाएको वडा अध्यक्ष देवराज तामाङले जानकारी दिनुभयो ।
वडा नं. २ चुखा, गाृठडाँडा, डाँडागाउँ, मलडाँडा, लामागाउँ, भैंसेपानी, लगायतका गाउँहरुमा सवारी साधनमार्फत पुग्न सकिने उहाँले बताउनुभयो ।
काठमाडौं, धुलिखेल लगायत शहरसँग भकुण्डेवेशी कोटतिमाल सडक हुदै यो वडा जोडिएको छ ।
वडा अध्यक्ष तामाङका अनुसार भकुण्डे हुदै कोटतिमाल पुगेपछि यी गाउँहरुमा आउजाउ गर्न सकिने भएको हो ।
कोटतिमालदेखि डाँडागाउँ, वडा कार्यालय सडक, वडा कार्यालय हुदै चुखाखोला लामागाउँ सडक, कोटतिमाल हुदै भैंसेपानी लामागाउँ सडक, वडा नं. १ समेत जोडिएको कल्लेरीपाखा भुपालेश्वर हुदै मलडाँडा कोटतिमाल सडक र खहरेघाट अमलटारी हुदै कोसीदेखा पलाञ्चोक क्षेत्रको सडक जोड्ने सडक समेत खुलाएको वडा अध्यक्ष तामाङले स्पष्ट पार्नुभयो ।
वडा अध्यक्ष तामाङले भन्नुभयो, ‘वडा नं. २ कोटतेमाल छापडाँडा डाँडागाउँ सडक, डाँडागाउँ चुखा मयलचौर लामागाउँ सडक, चुखाबेशी खहरेघाट अमलटारी भञ्ज्याङ् चौतारा सडकको पहिरो ब्यबस्थापन कार्य सम्पन्न भएको छ । भुपालेश्वर स्कुल चौतारापाखा लामागाउँ मलडाँडा भैसेपानी कोटतेमाल सडक पहिरो ब्यबस्थापन कार्य अलिकती बाँकी रहेकोमा यो पनि शुक्रबारसम्म सम्पन्न गर्नेछौं ।’
दशैंको मुखमा परेको अविरल वर्षापछिको पहिरोले क्षतिग्रस्त सडकहरु खुलाउन युद्ध स्तरमा काम गरिएको, अधिक क्षति भएकोले यी सडकहरुको पहिरो पन्छाउँदा नयाँ ट्र्याक खोलेजत्तिकै मिहेनत गर्नुपरेको वडाध्यक्ष तामाङको भनाई छ ।
सडकहरु खुलेसँगै सर्वसाधरण जनताले यथावत् सेवा पाएका छन् । सडकहरु खुलाएपछि दशैं चाडपर्वको बेला आवतजावत गर्न, विरामीलाई उपचार गर्नुपरेमा अस्पतालसम्म ल्याउन, किसानका कृषि उपज बजारसम्म ल्याउन सहज भएको छ ।
पाँचखाल बोहोरेदोभान हुदै १ नं. वडाको आधाबाट सर्स्यूंखर्क लामागाउँ सडक खण्ड आंशिक रुपमा आधाबाट सम्म मात्रै खुलेकाले यो रुट हुदै वडा नं. २ को डाँडागाउँ सम्म सञ्चालनमा रहेको बस सेवा भने प्रभावित बनेको छ ।
पहिरोबाट एकै परिवारका आठ जनाको ज्यान गएको, थुप्रै घर गोठ, बस्तुभाउ, बालीनाली, विकासका संरचना एवं पूर्वाधारहरुको क्षति बेहोरेको यस वडामा क्षतिको तथ्यांक संकलन गरी राहत वितरण हुदै आएकोमा अब पुननिर्माण एवं पुर्नस्थापनाका प्रक्रिया अगाडि बढाउने वडा अध्यक्ष देवराज तामाङले बताउनुभयो ।