
फोटो : सुदिन दोङ
काठमाडौं–२०७२ को विनासकारी भुकम्पले कैयन धनजनको क्षति त गरायो नै, यो विपद्मा साथ, सहयोगको नाममा मौका छोपेर मानव तस्कर जस्ता अपराधिक घटनाहरु पनि सतहमै देखिएको थियो । काठमाडौं आसपासका जिल्लाबाट विभिन्न देशमा बालबालिकादेखि युवतीहरु बेचविखनमा परेको घटनाहरु केलाउँदा अधिकांश तामाङहरु पिडित देखिए । यिनै कहालिलाग्दो विगत सम्झाउने कथा उधिनिएको तामाङ चलचित्र ‘म्हारमेन’ को पहिलो विशेष प्रर्दशन भव्य रुपमा शनिबार सम्पन्न भयो ।
तामाङ मौलिक सांस्कृतिक परिवेशबाट उठेको कथामा भुकम्प, भुकम्पले पुर्याएको भौतिक तथा मानविय क्षति, खुल्ला आकाश मुनिको बास विताउनुपर्ने यहि पिडाका बीच राहत बाँड्न गाउँ पुगेको दलका नेताले भर्खरै बिवाह गरेका तामाङ चेली भारतमा लगेर यौनधन्दा प्रयोजनमा बेचेको देखिन्छ,परिवारीक विछोडले बेदनापूर्ण कथा छ ।
मुख्य त अशिक्षाका कारण तामाङ निमुखा जनतामाथि अरुले हालीमुहाली गरेको, सामाजिक परिवर्तन तथा आर्थिक समृद्धिको पाटो कमजोर हुने गरेको, प्राकृतिक विपद् जस्ता आपत विपद्मा पनि यिनै कमजोरीको फाईदा अरुले उठाउँदा तामाङहरु पिडित बनिरहनुपरेको चलचित्रको निश्कर्ष देखिन्छ ।
राजधानी स्थित राष्ट्रिय सांस्कृतिक संस्थान नाचघरमा यसै चलचित्र ‘म्हारमेन’ प्रिमियर शोको उद्घाटन प्रतिनिधिसभाका पूर्व सांसद नविना लामाले गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लामाले सामाजिक रुपान्तरण तथा सांस्कृतिक जागरणका लागि चलचित्र शसक्त माध्यम रहेको धारणा राख्नुभयो ।
कार्यक्रमको अध्यक्षता गरेकी अभियन्ता,राष्ट्रिय आदिवासी जनजाति महिला मंचकी अध्यक्ष एवं “म्हारमेन” कार्यकारी निमात्री सुनी लामाले मानव बेचविखनका घटनाहरु केलाउँदा पिडितहरुमध्ये ६० प्रतिशत अनुहार तामाङहरुको पाउने गरेको उल्लेख गर्दै यसको रोकथाममा लाग्न सरकारले आवश्यक नीति, कार्यक्रमहरु ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
चलचित्र ‘म्हारमेन’ जस्ता सिर्जनाहरुमार्फत यस खालका समस्याहरुको निराकरण, सामाजिक न्याय, सांस्कृति प्रवद्र्धन जस्ता कार्यहरुमा टेवा पुग्ने उहाँहरुको विश्वास छ ।
यो चलचित्रले तामाङ संस्कृति,भेषभुषा तथा भाषा प्रवद्र्धनमा समेत भुमिका खेल्ने निर्मात्री समेत रहेकी नायिका रञ्जिता लामा ब्लोनको भनाई छ ।
अजय स्याङतान निर्देशित मम्स् इन्टरनेशनल नेपालको व्यानरमा निर्माण गरिएको चलचित्रमा चर्चित नायक तथा निर्देशक अमिर दोङ, नायिका रञ्जिता लामा ब्लोन, सुस्मा मोक्तान, कुइसाङ रुम्बा, अनिता नेगी, पदम लामा, राहुल मोक्तान लगायतका कलाकारहरुको शसक्त अभिनय रहेको छ ।
रिन्छेन घिसिङको प्रस्तुती चलचित्र ‘म्हारमेन’ को कार्यकारी निर्माता सुनी लामा र विनोद लामा हुनुहुन्छ ।
एसोशियट निर्देशकको भुमिका बद्री थिङले निर्वाह गर्नुभएको चलचित्रको कथा लोखन दोर्जे तामाङ र ऋतुराज पाख्रिनको हो भने कथा परिकल्पना स्वयं रञ्जिताकै हो ।
डम्फू मिडियाको पोष्ट प्रोडक्सन म्हारमेनमा विक्रम लामाको छायांकन, राजु तामाङको द्धन्द, विशाल काल्तानको संगीत रहेको छ ।
म्हारमेनको प्रिमियर शोमा अतिथिका रुपमा समाजशास्त्री डा. संग्राम लामा, पर्यटन बोर्डका सदस्य राजेन्द्र तामाङ, नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविनकुमार वल, तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जन, आदिवासी जनजति चलचित्र महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवार, तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ, सुस्मीता फाउण्डेशनका अध्यक्ष सुस्मीता तामाङ, अभियन्ता, व्यवसायी लगायत हुनुहुन्थ्यो ।
शुभारम्भमा नेपाल तामाङ मौलिक ह्वाइला न्हान परिवारले ताम्बा साङसेरगेम गरेका थिए ।