पोखरा–नेपाल तामाङ घेदुङ कास्कीको बहुउद्देश्यीय भवन निर्माण कार्य शुभारम्भ गरिएको छ । शुक्रबार प्रतिनिधि सभा सदस्य मन बहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजित एक औपचारिक कार्यक्रमका बीच कास्की घेदुङले पोखरा १४ चाउथे स्थित आफ्नो जग्गामा भवनको शिलान्यास गरेको हो ।
धर्मगुरु धिरज लामाले साङशेग्र्याम गरेपछि प्रतिनिधि सभा सदस्य गुरुङका साथै घेदुङ संघीय उपाध्यक्ष दीपक वाईबा तामाङ र घेदुङ जिल्ला अध्यक्ष भक्त तामाङले भवनको शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले बहुउद्देश्यीय भवनको जग हाल्नु शुरुवाती सफलता भएपनि विनियोजित बजेट भवन सम्पन्न गर्नका लागि पर्याप्त नभएकोले तिनै तहको सरकारको ढोका ढक्ढकाउन सुझाव दिनुभयो ।
‘यो काम सम्पन्न गर्न तपाईंहरुले कुनै कसर बाँकी राख्नु हुँदैेन ।’ –उहाँले भन्नुभयो, ‘आदिवासी समुदायले हिजोदेखि आज सम्म पनि देश बिदेशमा हुने आफन्तसँग आर्थिक सहयोग उठाएरै भवन ठड्याउने, ठुलाठुला कार्यक्रमहरु सम्पन्न गर्ने गर्छन् तर प्रशासनिक प्रकृया पुर्याएर सरकारी बजेट प्राप्त गर्ने कुरामा भने अझै पछाडी नै छौं, राज्यले अनुत्पादित क्षेत्रमा लगानी नगर्ने भन्छ तर यो देशको नागरिक वा कुनै समुदायको विकासमा टेवा पुर्याउनु भनेको चौतर्फी हिसाबले सिङ्गो देश समृद्ध हुनु हो ।’
रितु तामाङको स्वागत मन्तव्य,मिनमाया तामाङको सहजिकरणमा भएको कार्यक्रममा सहभागि अन्य अतिथिरूले पनि आफूहरुको तर्फबाट पनि साथ सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक वाईबा,तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङ, तामाङ घेदुङ प्रदेश उपाध्यक्ष शिबु ब्लोन, घेदुङ महानगर सचिव अन्जना तामाङ, पोखरा महानगरपालिका वडा नं. १३ का जनप्रतिनिधि सुचिता तामाङ, बैदाम तामाङ इकाई समितिका अध्यक्ष ज्याक तामाङ लगायतका अतिथिरूले पनि आफूहरुको तर्फबाट पनि साथ सहयोग रहने प्रतिवद्धता जनाउँदै भवन निर्माण सफल पार्न शुभकामना व्यक्त गर्नुभएको थियो ।