बनेपा–दशैंको शुभारम्भ घटस्थापनाका दिन बिहिबार काभ्रेको बनेपास्थित शुभकामना हलमा नेपाली भाषामा मगर कथानक चलचित्र ‘उखान’ को प्रदर्शन गरिएको छ ।

काभ्रे महाभारतका प्रकाश कुमार दर्लामीको कथा लेखन तथा निर्देशनमा तयार भएको चलचित्र  जिल्लाका दर्शकहरुले पनि हेर्न पाएका हुन् ।

हरेक मगर बस्तीहरुमा जाने अभियान अनुसार देशका विभिन्न स्थानका दर्शकमाझ पुगेको यो चलचित्र आफ्ना जिल्लाबासीलाई लक्षित गर्दै प्रदर्शन गरिएको निर्देशक दर्लामीले बताउनुभयो ।

उहाँले बाढी पहिरोले आक्रान्त बनेको जिल्लामा यो विपद्का बीच पनि निर्धारित समय अनुसार तय भएको ‘उखान’ को प्रदर्शनमा सामेल भएकोमा सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

मगर कथानक भएपनि नेपाली भाषामा भएकोले चलचित्र ‘उखान’ प्रदर्शनमा मगर र अन्य समुदायका दर्शकले समेत सहज रुपमा सहभागिता जनाएको उहाँको भनाई छ ।

अन्य मगर बस्तीहरुमा पनि चलचित्र उखान प्रदर्शन गर्ने सोच रहेको निर्देशक दर्लामीले जानकारी दिनुभयो ।

चलचित्रले सूचना प्रविधिको विकास संगै पश्चिमा संस्कृतिको चेपुवामा पर्दै गएको मौलिक संस्कृति प्रवद्र्धनमा जोड दिएको भन्दै दर्शकहरुले खुसी व्यक्त गरे ।

चलचित्र हेरे पश्चात सामाजिक अभियन्ता एवं बुद्धिजीवि वषन्त कुंवरले भाषा, संस्कृति प्रवर्दनका सवालसँगै समसामयिक विषयलाई समेटेर तयार गरेको नेपाली भाषाको चलचित्र उखान राम्रो लागेको धारणा व्यक्त गर्नुभयो । यस खलोका चलचित्र सबैले एकपटक हेर्नुपर्ने उहाँको अनुरोध छ ।

त्यस्तै कलाकार समेत रहेका नेपाल आदिवासी जनजाति महासंघ काभ्रेका निवर्तमान अध्यक्ष लेखराम(बबालजंग) सारु मगरले युवा पुस्ता माझ सांस्कृतिक जागरण ल्याउन यस खालका चलचित्रको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

चलचित्र ‘उखान’ ले मगर भाषा, संस्कार तथा भेषभुषा लोप हुनुका कारण र संरक्षणका सवाल, मगर जातिको प्रचलनअनुसार सालिभेनाको विशेष अधिकार, जारी उठाउने चलन, बैदेशिक रोजगारमा जाने क्रम बढेसँगै देखिएको सामाजिक,पारिवारिक विखण्डनको पिडा, मगर आफ्नो पहिचान जोगाउनु पर्ने सन्देशको साथमा भरपुर मनोरञ्जनात्मक पाईएको दर्शक प्रतिक्रिया छ ।

सुरजको द्धन्द निर्देशन, सुजन श्रेष्ठको छायांकन, युवराज खत्रीको सम्पादन रहेको यो चलचित्रमा कोरियोग्राफी जस्मिन मगरको रहेको छ ।

चलचित्रको निर्मातामा टेक बहादुर अस्तानी, देवकुमार दर्लामी, सहनिर्माता निर्मला थापा, सुनिता आले र कार्यकारी निर्माता मेक आले हुनुहुन्छ भने व्यवस्थापकमा कुमार राना मगर हुनुहुन्छ ।

यस ‘उखान’ चलचित्रमा मुख्य रुपमा प्रकाश कुमार दर्लामी, खड्क बहादुर पुन (खबपु), कविता आले, रिमा काउचा मगर, धन माया सोति मगर, हेमा पुन, काजिमान पुलामी मगर, मेक आले, बलबिक्रम थापा, सावित्री राना, शंकर सुनुवार, लक्ष्मी श्रेष्ठ, उषा मगर, मेक आले, दीपक योगी लगायतका कलाकारहरुको शसक्त अभिनय रहेको  छ ।

प्रतिक्रिया दिनुहोस !