काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी र पहिरो पिडितका लागि उद्धारका साथै राहत वितरण सुरु गरिएको बताउनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा उहाँले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ भएको जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसम्कने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको पनि बताउनुभयो ।

बाढी पहिरोबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएको जनाउनुहुदै उहाँले क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ ।

बाढीपहिरो पीडितलाई खोज र उद्धार कार्य अबको दुईदिनभित्र सकिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ ।

Photo : onlinekhabar

प्रतिक्रिया दिनुहोस !