काभ्रे—जिल्लाको खानीखोला गाउँपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ हर्षोल्लासका साथ मनाएको छ । संविधान दिवस मूल समारोह नै आयोजना गरेर गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ९(छिन्ताङ) को प्रमुख अतिथ्यतामा यो दिवस मनाईएको हो ।
नेपाली जनताको सात दशक लामो संघर्ष, जनययुद्ध, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको खुसीयाली स्वरुप दिवस मनाएको अध्यक्ष थिङले बताउनुभयो ।
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेकोमा त्यसको कार्यन्वयन गर्नुको विकल्प नभएको सन्देशको रुपमा यो दिवसलाई मनाउन आवश्यक महसुस गरेको उहाँको भनाई छ ।
देशभर झैं खानीखोला गाउँपालिकामा पनि शुभकामना आदाप्रदान, दिप प्रज्वलन, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय झण्डा फहराउन जस्ता कार्यक्रमहरु सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा, निमित प्रमुख प्रशासकीय अधिकृत रामपुकार यादव , वडा नं. ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, ४ नम्बर वडा अध्यक्ष निशान मोक्तान , ३ नम्बर वडा अध्यक्ष सागर लामा, १ नम्बर वडा अध्यक्ष सन्चमान थिङका साथै विभिन्न संघसंस्था, पार्टीका प्रतिनिधि, अभियन्तादेखि सर्वसाधारण नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो ।