फोटो : मानकाजी सुवाल

धुलिखेल–बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले कृषिमा व्यवसायिक उत्पादनका लागि सरकारको अनुदान नपुगेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित कृषि विकास कार्यालय, बागवानी विकास केन्द्र पाँचखाल, पशुसेवा कार्यालय धुलिखेलको आर्थिक वर्ष २०८०/०८१ को समीक्षा तथा २०८१/०८२ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि अनुदान बढाउन आवश्यक रहेको औंल्याउनुभएको हो ।

उहाँले भन्नुभयो’–‘अहिले सरकारको ५० र किसानको ५० प्रतिशत लगानीमा कृषि औजार यन्त्र उपकरण, बिउविजन वितरण हुदै आएको छ, मेरो प्रस्ताव किसानले २० प्रतिशत मात्रै बेहोर्ने हो, अरु सरकारले लगानी गर्ने हो ।’ कृषि प्रवद्र्धन कार्यक्रममा २० प्रतिशत किसानले लगानी गर्नुपर्ने शर्त तथा नीति पनि व्यवहारिक नभएको उहाँको भनाई छ ।

‘किसानले श्रम गर्ने हो, खन्ने , बोक्ने हो, कहाँबाट पैसा लगानी गर्न सकिन्छ र ? कृषि प्रवद्र्धन कार्यक्रममा जम्मा ५ प्रतिशत मात्रै किसानको र अरु सरकारको अनुदान हुनुपर्छ भन्ने मेरो सोच हो ।’–मन्त्री श्रेष्ठले भन्नुभयो ।

लागतको दृष्टिले पनि नेपालका किसानले उत्पादन गरेका कृषि तथा पशुपन्छी जन्य बस्तु भारतबाट आयात गरेको भन्दा महंगो हुने भएकोले बजारीकरणमा समेत समस्या भएको औंल्याउँदै उहाँले सरकारले प्रशस्त अनुदान दिएमात्रै किसान घाटामा नजाने बताउनुभयो । कृषि तथा पशुपन्छी क्षेत्रका कार्यक्रम वास्तविक किसानसामु पुर्याउने नीति सरकारको रहने भन्दै उहाँले प्रदेश, स्थानीय सरकार, जिल्ला समन्वय समितिबीचको बलियो समन्वयमा प्रभावकारी अनुगमन कार्य हुने बताउनुभयो ।

असली किसान खेतबारीमा व्यस्त हुने, कागजात मिलाउन जान्नेहरु मात्र अनुदानबाट धेरै लाभान्वित हुने गरेको गुनासोहरु आफूले पनि सुनेको बताउँदै मन्त्री श्रेष्ठले वास्तविक किसानले सरकारको प्रत्याभुति पाउने गरी कृषि कार्यक्रमहरु कार्यन्वयन गर्न कार्यविधिहरुमा आवश्यक संशोधन गरिने प्रतिवद्धता समेत जनाउनुभयो ।

आत्मनिर्भर भएर निर्यातसमेत गर्न सक्ने अवस्था कृषि क्षेत्रमा ल्याउन किसानलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिदै उहाँले झन्झटिलो प्रक्रियामा १, २ लाखको योजना भन्दा ठूला योजना अनुदान दिएर खुसी बनाई उत्पादनमार्फत समृद्धिको हाँसील गर्नतर्फ लाग्न आवश्यक रहेको धारणा राख्नुभयो ।

मन्त्री प्रकाश श्रेष्ठले एउटा स्थानीय तहमा कम्तीमा १० देखि २० करोडसम्मको २ वटा कृषि तथा पशुपन्छी विकास योजना कार्यन्वयनमा लैजाने तयारी रहेको पनि बताउनुभयो । यसका लागि कृषि सर्वेक्षण तथा आवश्यकताको पहिचान गरी आफ्नो क्षेत्रको पहिचान बनाउने गरी योजना प्रस्ताव ल्याउन सबै स्थानीय तहलाई मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो ।

कार्यक्रममा कृषि विकास कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकका प्रमुख कुल प्रसाद दवाडी, पशु सेवा कार्यालयका प्रमुख डा.निशान्त शर्मा गेलाल र बागवानी विकास केन्द्र पाँचखालका प्रमुख बिष्णु बोगटीले आ–आफ्नो कार्यालयको तर्फबाट आर्थिक वर्ष २०८०/०८१ को उपलब्धी, समस्या र समन्वयत्मक पाटो र २०८१/०८२ को वार्षिक कार्यक्रमबारे प्रस्तुतीकरण राख्नुभएको थियो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको समन्वयमा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतम, उपप्रमुख रिम बहादुर तामाङ, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल, पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जारा, पाँचखाल नगरपालिकाका उपप्रमुख सुर्यमाया दनुवार लगायतले कृषि, बागवानी, पशुपन्छी विकास कार्यालयका कार्यक्रमहरुको न्यायपुर्ण वितरण तथा प्रभावकारी कार्यन्वयन, यसमा गर्न सकिने समन्वय सहकार्यका सवालमा आ–आफ्ना सुझाव धारणाहरु राख्नुभएको थियो ।

अन्तक्र्रियात्मक कार्यक्रममा बेथानचोकका गोपाल प्रसाद तिमिल्सना, पनौतीका राजेन्द्र थापा, मण्डनदेउपुरका गोविन्द प्रसाद नेपाल लगायत किसान प्रतिनिधिहरुले रैथाने बालीको संरक्षण र विकासदेखि विभिन्न बालीका विउ, विषादीको सहज आपुर्तिमा ध्यान दिन माग गर्नुभएको थियो ।

संघीय सरकार, प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका कार्यालयहरु, जिल्ला समन्वय समिति, स्थानीय सरकार बीचको बलियो समन्वयबाट कृषि तथा पशुपन्छी क्षेत्रमा अधिकतम उपलब्धी हाँसील हुने निश्कर्ष कार्यक्रममा सहभागि सबैको थियो ।

 

प्रतिक्रिया दिनुहोस !