कास्की–इटालीको सियाना विश्वविद्यालयबाट 5G प्रविधि विषयमा पीएचडी हाँसिल गरि नेपाल आउनुभएका डा.दिनेश स्याङबो तामाङलाई तामाङ बौद्ध सेवा समिति संगमटोल–१३ पोखराले विशेष सम्मान गरेको छ ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा.गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा हालै एक कार्यक्रम आयोजना गर्दै डा. तामाङलाई सम्मान गरिएको हो ।
प्रमुख अतिथि गुरुङले डा.दिनेश स्याङबो तामाङ जस्ता प्रतिभा देशका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले सक्षम व्यक्तिलाई देशमै अडिरहने वातावरण सृजना अहिले पनि नभएको र हरेक क्षेत्रमा नातावाद र कृपावाद हावी रहेको तितो यथार्थ पोख्नुभयो ।
गुरुङले भन्नुभयो -‘लाखौं खर्चेर अनेकन संघर्षले अध्ययन सकेर देश फर्केका युवालाई जागिरमा नियुक्ति गर्दा कुन पार्टीको,कसको मान्छे भनेर सोधेर मात्र नियुक्ति गर्छ भने यो भन्दा दुखद के हुन सक्छ?सक्षम व्यक्तिले देशमा क्षमता अनुसारको पारिश्रमिक नपाउनु अर्को दुखद पक्ष हो ।’
हरेक मानिसमा मानवियता,सामाजिक,राजनैतिक चेतना हुनु अत्यन्तै महत्त्वपूर्ण कुरा रहेको भएपनि फोहोरी प्रवृत्तिको राजनीतिले युवा प्रतिभाहरुमा नैराश्यता बढाएको उहाँको धारणा थियो ।
सम्मानित व्यक्तित्व डा.दिनेश तामाङले आफ्नो शैक्षिक यात्राको अनुभव साट्नुभएको थियो । अध्ययनको क्रममा आफ्नो लक्ष्य तय भइसकेपछि धैर्यता,निरन्तरता र कडा परिश्रम नै अचुक कडी रहेको कुराको अनुभव आफूले पाएको उहाँको भनाई थियो ।
उपाध्यक्ष शेरजङ वाइबाको स्वागत मन्तव्य,सचिव पवित्रा तामाङको संचालन,संस्थाका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति उपाध्यक्ष दीपक तामाङ,जिल्ला घेदुङ कास्कीका सचिव मिनमाया तामाङ,महानगर घेदुङ पोखराका प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो लगायतले सम्मानित व्यक्तित्वलाई बधाई तथा थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
डा. तामाङले हाँसील गरेको उपलब्धी सिंगो समुदाय र राज्यकै लागि महत्वपूर्ण रहेको उहाँहरुको धारणा थियो ।