![](https://namobuddhakhabar.com/wp-content/uploads/2019/03/KP-Sharma-Oli.jpg)
काठमाडौं–प्रतिनिधिसभाको पहिलो दल नेपाली काँग्रेस,दोस्रो दल नेकपा एमाले लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तय भएको छ ।
संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त हुनुभएका एमाले अध्यक्ष ओलीले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले बताउनुभयो । संसद सचिवालयलाई यसबारे बुधबार औपचारिक पत्र गएको जनाइएको छ ।
संविधानको धारा ७६ (४) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।
ओलीसँग सुरुवातमै दुई तिहाई बहुमत देखिएको छ । समर्थन जनाएका मध्ये कांग्रेस ८८, एमाले ७९, जसपा ७ र ४ सांसद सदस्य रहेको लोसपा सरकारमा सहभागी भइसकेका छन् ।
जनमत, जनता समाजवादी नेपाल,नागरिक उन्मुक्ति,राप्रपा लगायतका दलले पनि विश्वासको मत दिने जनाउ दिएका छन् । यद्यपी प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपूर्व सत्ता परिवर्तनका सन्दर्भमा काँग्रेस र एमाले बीच भएको भनिएको ७ बुँदै सहमति सार्वजनिक हुनुपर्ने ति दलहरुको धारणा रहेको छ ।