
तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका साथै बजेट समेत सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर लामाले सोमबार आयोजित गाउँसभाको १५ औं अधिवेशनमार्फत विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्नुभएको हो ।
अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दलमान थोकरले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि ५० करोड ९६ लाख ६८ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । गाउँसभाको अधिवेशनमा प्रस्तुत उक्त नीति तथा कार्यक्रमका साथै बजेट सोमबार नै सर्वसम्मत रुपमा पारित गरिएको छ ।
तेमाल सरकारको आगामी नीति तथा बजेट
अधिवेशनमा पालिका अध्यक्ष लामाले तेमाल समृद्धिको परिकल्पना अनुसार विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।
उहाँले सामाजिक विकास ,संस्कृति,युवा तथा खेलकुद,लैंगिक समानता र समाजिक समावेशीकरण,स्वास्थ्य,आर्थिक विकास,उद्योग तथा पर्यटन,कृषि तथा पशुपंक्षी,सहकारी,भौतिक पूर्वाधार विकास,सूचना तथा सञ्चार,न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन,सुशासन,सार्वजनिक सेवा तथा क्षमता विकास,वन,वातावरण,जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन,खानेपानी तथा सरसफाई,कर्मचारी लगाययतका क्षेत्र एवं विषयका नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो ।
सभामा उपाध्यक्ष थोकरले संघीय सरकारको वित्तिय समानीकरण अनुदान,संघीय सशर्त अनुदान,समपुरक अनुदान,विशेष अनुदान,प्रदेश सशर्त अनुदान,राजस्व बाँडफाँड,आन्तरिक आय लगायत गरी ५० करोड ९६ लाख ६८ हजार ८ सय रुपैयाँको बजेट टेबल गर्नुभएको थियो ।
सभामा गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङ,वडा नं. १ का वडा अध्यक्ष इन्द्र बहादुर अधिकारी,वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर दोङ लगायतले अध्यक्ष लामाद्धारा टेबल गरिएको नीति तथा कार्यक्रम र उपाध्यक्ष थोकरद्धारा पेश गरिएको बजेट कार्यन्वयनमा सबै एक भएर लाग्नुपर्ने भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सभाका सदस्य सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार प्याकुरेल,कार्यपालिका सदस्य एवं जिल्ला समन्वय समितिका सदस्य रस्मिता भण्डारी,वडा अध्यक्ष,कार्यपालिका सदस्य,गाउँसभा सदस्य,पालिकाका विषयगत शाखा प्रमुख,कर्मचारी,सञ्चारकर्मी लगायतको भव्य उपस्थितिमा सभा सम्पन्न भएको हो ।
सभाको सञ्चालन शिक्षा शाखाका उप संयोजक भिम लामाले गर्नुभएको थियो ।